काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग उनकै घरमा पुगेर भेटेर आएको दावी गरेका छन् ।
शुक्रवार आयोजित एक कार्यक्रममा ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका हुन् । उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप दावी गरे । ओलीले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको र कुनै कुरा नलुकाएको जिकिर पनि गरे ।
उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहीतका पक्षमा कुनै कुरा नगरेको बताए । ओलीले भने, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको छ । भारतबाट रअका प्रमुख नेपाल आए । मसँग भेट्छु भने । नेपालमा आएर भेटे । मैले सार्वजनिक रुपमा भेटेँ । कुरा गरेँ । यस पटक प्रचण्डजी दिल्ली जानुभयो । उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनु भयो । मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन् । उहाँ गएर भेटेको होइन् । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो । जनताको हीतको पक्षमा कुरा गरेँ । अहीत केही कुरा गरिनँ । उहाँले देशको हीतको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो ? के भन्नुभयो ? भेटेको कुरा पनि स्वीकार्न सक्नुहुन्न उहाँ ।’
अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था रहे पनि लोकतन्त्र र कानूनी राज नरहेको तर्क गरे । उनले नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसदबाट नचुनिएको प्रधानमन्त्री दाहालको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि ठट्टा गरिएको बताए । ओलीले छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बताए ।
नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै उनले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने अडान राखे । सत्तापक्षसँग कुनै पनि स्थानमा भेट्न आफू तयार रहेको ओलीको भनाई छ । उनले सत्तापक्षले घमण्ड देखाएर संसदमा भेट्ने भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनैपनि ठाउँमा भेट्न तयार रहेको बताए ।