‘सात लाख नयाँ सदस्य थप्नुभन्दा सात लाख नयाँ उद्यमी थप्ने अभियान चलाउन मिल्दैन कांग्रेस ?’

Advertisement

काठमाडौं । ठूला र पूराना पार्टीहरुप्रति जनताको बितृष्णा तीब्ररुपमा बढिरहेको बेला नेपाली कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सात लाखसम्म नयाँ सदस्य लक्ष्य अघि सारेको छ । 

यतिबेला मुलुकमा आर्थिक मन्दीको अवस्था छ । उद्योग व्यवसाय गर्ने वातावरण नहुँदा व्यवसायीहरु पलायन हुने क्रम बढिरहेको छ । सटरहरु खाली हुन थालेका छन् । उद्योगहरुको उत्पादन घटेको छ । विगतका बर्षहरुमा जसरी राजश्व तिर्न सकेका छैनन् । ऋणको किस्ता तिर्न उनीहरुलाई कठिनाई भएको छ । यस्तो बेला सरकार र राजनीति दलहरुले कसरी मुलुकमा उद्योग व्यवसायमैत्री वातावरण बनाउने ? भनेर पहल गर्नुपर्नेमा कार्यकर्ता थप्ने अलोकप्रिय निर्णय गर्न थालेका छन् । 

Advertisement

मुलुककै पूरानो दल कांग्रेसले ५ लाखदेखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । यता अर्को ठूलो दल नेकपा एमालेले ‘ग्रासरुट अभियान’ भनेर युवाहरुलाई पार्टीमा आकर्षित गर्ने प्रयास गर्दै आएको छ । यस कुराले उनीहरु अझै पनि मुलुकको आर्थिक अवस्था र आर्थिक विकासप्रति गम्भीर छैनन् भन्ने दर्साउँछ । 

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सो पार्टीका महामन्त्री समेत रहेका युवा नेता गगन थापाले नै कार्यकर्ता बढाउन यही आउँदो साउन २० देखि २०८१ असार ३१ सम्म सदस्यता विस्तार अभियान चलाउने प्रस्ताव राखेका हुन् । 

कांग्रेसको २०७८ मंसिर–पुसमा भएको १४ औं महाधिवेशनसम्म आठ लाख ६६ हजार क्रियाशील सदस्य थिए । अहिले सो पार्टीको गलत नीति र असक्ष नेतृत्व देखेर धेरै कार्यकर्ताहरु अरु पार्टीमा पलायन हुने वा स्वतन्त्र नागरिक भएर बस्ने क्रम बढेको छ । सो कुरालाई रोक्न कांग्रेसले जनताको आर्थिक जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने, मानिसहरुको सेन्टिमेन्टसँग जोडिएका राष्ट्रियता संस्कृतिमा अडान राख्ने भन्दा पनि सदस्यता बढाउने गलत नीति अबलम्बन गरेको छ । यसले कांग्रेसलाई आगामी दिनमा थप क्षति हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ । 

Advertisement

Advertisement