काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको गौरवशाली संस्था नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै आापत्ति जनाएको छ ।
सो पार्टीले बुधबार विज्ञप्ति जारी गरेर योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताएको हो ।
राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान रहेको र यसबारे राप्रपा बहस गर्न तयार छ भन्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गर्न नहुने बताएको छ ।
राप्रपाले भनेको छ, ‘नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमा समेत अलग पहिचान बनाएको, विकास निर्माण, सिमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चूनौतिपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको नेपाली सेनालाई अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको वर्तमान अवस्थामा सेनाको भूमिका उपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ ।’
कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गराइने कुनै पनि प्रयासलाई आफूहरुले किमार्थ स्वीकार नगर्ने बताउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनद्धारा जारी विज्ञप्तिमा सेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाइ अक्षुण्ण राख्न सबैको साझा प्रतिवद्धताका लागि आग्रह गरेको छ ।