सुन तस्करीको निष्पक्ष छानविनका लागि गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छः सांसद शर्मा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा दिनुपर्ने बताए । 

शर्माले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए । अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको बताए । साँसद शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा नेपाल प्रहरीहरु विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद प्राप्त भए पनि नैतिकताका हिसावले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

Advertisement

अनियमितताको कुरामा पक्ष, विपक्षको पार्टीको कुरा नरहने भन्दै उनले नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गरे । सुनिल शर्माले भन्सार विभागले सुन तस्करीको घटनाको छानविन गरिरहेकोले यसको निष्पक्ष छानविनका लागि श्रेष्ठ र महतले राजीनामा दिनुपर्ने बताए । 

उनले भने, ‘नेशनल स्क्याण्डरको रुपमा अहिले जुन हिजो सुन काण्ड आयो, कस्तो बेलामा आयो भने प्रधानमन्त्रीको धर्मपत्नीको काजकृया गरेर बसिरहेको बेलामा आयो । अर्थ मन्त्रालय मातहतको भन्सार विभाग त्यहाँ हुँदो रहेछ, गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा पुलिसहरु बस्नुहुँदो रहेछ । अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल क्विन्टल सुन थाहा नपाइकन उहाँहरुको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुप¥यो । उहाँ धन्यवादको पात्र हुनुहुन्छ, यो देशमा । तर नैतिकताका हिसावले देशमा यत्रो सुन क्वीन्टल क्वीन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरुले राजीनामा दिनुपर्छ कि पर्दैन ? कुरा यो हो ।’ 

शर्माले थपे, ‘यसमा पक्ष र विपक्षको कुरा रहँदैन यसमा । नागरिक देश र जनताको कुरा हुन्छ । यहाँ पार्टीको पनि कुरा हुँदैन । गठबन्धनको भित्रको मान्छे भन्ने हुँदैन, यहाँ देश लुट्न कुनैपनि पार्टीको कुनै नेतालाई छुट छैन, त्यसैले दुई जना मन्त्रीले बाटो खुला गरेर तत्काल अनुसन्धानको विषयलाई सहज बनाइदिनुपर्छ र प्रधानमन्त्रीले चालेको कदममा सहज हुनुपर्छ ।’ 

Advertisement

Advertisement