ब्रिटिस कलेजले गर्यो स्टार्टअप फेस्ट, विजेताले पाए एक लाखसम्म पुरस्कार

Advertisement

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले स्टार्टअप फेस्ट २०२३ सम्पन्न गरेको छ । आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो ।

टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो विचारहरु राखेका थिए । सबैभन्दा राम्रो विचार प्रस्तुत गर्ने ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले पहिलो स्थान हासिल गरेको हो । 

Advertisement

रधिक थापाको नेतृत्वमा रहेको उक्त टिमले ‘रिसाइकल एण्ड स्टाइरोफोम युजिङ मिलवर्मस् एज अ प्रोसेस अफ डिकम्पोजिसन’ बारे विचार प्रस्तुत गरेका थिए । विजेता टिमले एक लाख रुपियाँ नगद पुरस्कार समेत प्राप्त गरेका छन् ।

सोही टिमका सदस्यहरुले टीबीसीको इन्क्युबेशन सेन्टरको एक्सेस समेत पाएका छन् । त्यस्तै, दोस्रो स्थान हासिल गर्ने ‘टिम हार्वेस्ट ग्रो इन्भेस्टमेन्ट’ले नेपाली कृषि उद्योगका लागि लगानीकर्ताहरु भर्ना गर्नेबारे विचार प्रस्तुत गरेका थिए । उनीहरुले पुरस्कारस्वरुप ७५ हजार रुपियाँ प्राप्त गरेका छन् । तेस्रो स्थान ‘बायो–इन्जाइम’ टिमले हासिल गरेको छ भने उक्त ५० हजार रुपियाँ बराबरको पुरस्कार प्राप्त गरेको छ । उनीहरुले वातावरणमैत्रि सफाइका उत्पादनबारे विचार प्रस्तुत गरेका थिए ।

टीबीसी स्टार्टअप फेस्ट देशभरका विद्यार्थीहरुको लागि आफ्नो उद्यमशील विचारहरु प्रस्तुत गर्ने र उनीहरुको स्टार्टअपहरुमा लगानी गर्ने उद्देश्यले सुरु गरिएको हो । प्रतियोगिताको पहिलो दिन नेपालभरका बिभिन्न कलेजहरुका ५० जना विद्यार्थीहरुले आ–आफ्नो विचारहरु प्रस्तुत गरेका थिए । ती मध्ये उत्कृष्ट १० विचारहरुलाई अघिल्लो चरणको लागि छनौट गरिएको थियो ।

उत्कृष्ट १० विचारहरुमा सहभागी भएका ५० जना विद्यार्थीहरु मध्यबाट पाँच टिम बनाइएको थियो । त्यसपछि सो टिमका सदस्यहरुलाई शनिबार विशेषज्ञ तथा टीबीसीका प्रोफेसरहरुले आवश्यक तयारी कक्षा समेत संचालन गरेका थिए । कार्यक्रमको अन्तिम दिन विशिष्ट अतिथिहरु प्रा. टिम गोचर ओबीई र डा. पुकार मल्लले आफ्ना भनाईहरु राखेका थिए ।

निर्णायकहरु स्नेह राजभण्डारी, आशुतोष दीक्षित, अमित अग्रवाल र ब्रिटिस कलेजका उप–प्राचार्य डा। प्याट्रिक म्याक्रडनको अगाडि टिमहरुले आफ्नो उद्यमशिल विचारहरु प्रस्तुत गरेका हुन् । सहभागी विद्यार्थीहरुले नवप्रवर्तन, प्रभाव र दिगो विकासका लक्ष्यहरुमा केन्द्रित रहँदै आफ्ना धारणाहरु राखेका थिए । उत्कृष्ट विचार प्रस्तुत गर्ने तीन टोलीलाई विजेता घोषित गरिएको हो ।
 
प्रतियोगिताको आयोजनाले विद्यार्थीहरुले आफ्नो विचारहरु प्रस्तुत गर्ने अवसर पाएको टीबीसीको विजनेश स्कुल विभागकी प्रमुख सुनिता बस्नेतले बताइन् । ब्रिटिस कलेजले नेपालको स्टार्टअप र उद्यमशिल इकोसिस्टममा योगदान पुर्याउने लक्ष्य राखेको र स्टार्टअप फेस्ट त्यसैको हिस्सा रहेको बस्नेतले बताइन । उनले थपिन्, ‘उद्यम, प्रभाव र एसडीजी सम्बन्धि पाठ्यक्रमहरु प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा हाम्रा लागि युवाहरुको विचारलाई वास्तविकतामा परिणत गर्न प्लेटफर्म दिनु आवश्यक छ । त्यसैले हामी यो कार्यक्रम वार्षिकरुपमा आयोजना गर्ने लक्ष्य राखेका छौं । साथै, भविष्यमा अझै धेरै शैक्षिक संस्था तथा उद्योगीहरुसँग सहकार्य गर्न चाहान्छौं ।’
 

Advertisement

Advertisement