काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छ् ।
शुक्रवार संसदको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको जिकिर गरे ।
गौतमले सांसदहरु संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावी रुपमा उठेर बोल्ने गरेको बताए । उनले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे । गौतमले पूरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताए ।
उनले पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको बताए । गौतमले भने, ‘नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो । अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ । त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनैपनि संसदमा त्यस्तो हुँदैन। परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ । एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ । कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसदभित्रको असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ ।’
नेता गौतमले कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए । उनले सांसदहरुले संसद आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताए । उनले उद्देश्य मुलुक ढङ्गले संसद चल्न नदिने किसिमले संसद अवरुद्ध गराउने काम भइरहेको बताए ।