काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलका शीर्ष नेताका कारण संसद् बैठक रोक्न नमिल्ने बताएका छन् ।
प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा उनले कुनै राजनीतिक दलबिच कुरा नमिल्दा संसद् बैठक रोक्न नमिल्ने बताए । लामिछानेले सभामुखले भनेको समयमा घण्टी बज्नै पर्ने र संसद बैठक चल्नैपर्ने बताए ।
उनले संसद बैठक चल्ने बेलामा तिनजना शीर्ष नेताहरु मिलेर किन सल्लाह गर्नुपर्यो भनि प्रश्न समेत गरे । लामिछानेले वर्षौदेखिको राजनीतिक हस्तक्षेपले राज्यका निकायहरुलाई निकम्मा बनाइरहेको बताए । उनले हरेक निकायमा दलका नेताहरुले आफ्ना मान्छेलाई भर्ती गरेका बताए ।
लामिछानेले भने, ‘सदन चल्ने तोकिएको समयमा सदन किन चल्दैनन ? सदन चल्ने बेला तिन जना शिर्ष नेताहरु मिलेर सल्लाह गर्नुपर्ने किन ? प्रत्येक दिन सदन कतिबेला चल्छ भनेर जनताका प्रतिनिधीहरु बसिरहेका छन् । यो क्रियाकलापलाई रोक्न जरुरी छ । हामीलाई आशंका छ, केहि दलका केहि नेताहरु बसेर यतिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाउँदैन । तोकिएको समयमा सदन चल्छ भनिसकेपछि सदनमा घण्टी बज्नैपर्छ । असन्तुष्टी अभिव्यक्ति गर्ने ठाउँ पनि यहि हो । आफ्ना कुरा राख्ने ठाउँ पनि यही हो । संसद् चल्ने र नचल्ने भनेको कुनै अमुक दलको कुरा मिल्दा र नमिल्दा होइन् । यहाँ नेपाली जनताका मुद्धामा छलफल हुनुपर्छ । शीर्ष नेताहरुको छलफल भइसकेपछि बिभिन्न भागवण्डाका कुराहरु आउँछन् । भागवण्डाको कुरा आइसकेपछि फेरि संसद् चलिरहेको छ । संसदीय समितिको भागवण्डा पनि मिलिसक्यो होला । त्यही भागवण्डा मिलेर पनि संसद् सहज भएको हुन सक्छ । यदी त्यसो हो भने हामी खुसी छौँ ।’
उनले थपे, ‘रास्वपा सैद्धान्तिक रुपमा प्रमुख प्रतिपक्षी बन्न गयो । कुनैपनि संसदीय समितिमा ठाउँ छैन । तर, यसबाट हामी चिन्तित छैनौं । हामीले आफूलाई अझ जिम्मेवार भएको महसुस गरेका छौं । आफ्ना मान्छे भर्ति गरेको ठाउँमा नागरिकको विश्वास छैन भनेर हामी कुर्लिन मिल्छ ? आफ्ना मान्छेलाई भर्ति गरेका कारण नेपाली जनतालाई विश्वास छैन । कयौं प्रतिवेदनहरु सिरानीमूनि लुकाएर राखिएका छन् । कहाँ गए ति प्रतिवेदनहरु ? यी सबै कुराको छानविन हुनुपर्छ । सरकारले एउटा हातले एयरपोर्टमा छोडेतापनि सिनामङ्गलमा अर्को हातले समायो भनेर खुसी हुन त सकिन्छ तर, सिनामङ्गलबाट लात्ताले प्वाक्क हानेर छोडीदियो भन्न सकिन्थ्यो होला त । सिनामङ्गलमा नसमातेको भए मालिक कहाँ पुग्थ्यो होला नी । गृहमन्त्रीलाई हौसला बढाउनका लागि अघि बढेको राजनितीक दल हौं हामी । उहाँलाई हौंसलामा कमि नआओस भनेर निरन्तर साथ दिइरहेका छौं । गृहमन्त्रीलाई प्रश्न छ, बाटोमा समातिएको सुन मालिककहाँ जान किन नदिएको होला ? तीन दिनपछि कम्पनीमा छापा मारियो, तीन दिनसम्म किन नपुगीएको होला ? तीन दिनपछि पुग्दा ब्रेक सु नभएको खाली डब्बाहरु भेटियो । त्यो समय किन दिइएको होला ? २० दिनसम्म राजस्व अनुसन्धानको छानविनमा प¥यो, जब दबावहरु बढ्दै गए अहिले सीआइबी तर्फ गएको छ । यो २० दिनमा अनुसन्धानलाई प्रभावित हुने कयौं क्रियाकलापहरु भए होलान् । प्रमाण लुकाउने, विदेश भाग्ने काम भए । यी कामहरुको जबाफ कसले दिन्छ ?’
लामिछानेले एमाले संसदीय समिति सभापतिको भागबन्डामा लागेको भन्दै यसो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी संसदको प्रमुख प्रतिपक्षी दल बनेको बताए ।