काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द यादवले गौर हत्याकाण्डको छानविन अघि बढाउने सरकारको निर्णयप्रति आपीत्त जनाएका छन् ।
सत्ता गठवन्धनको मंगलबार बिहान भएको बैठकमा उनले गौर हत्याकाण्डको छानविन अघि बढाइ सत्ता छाड्ने चेतावनी दिएका हुन् । बैठकबारे जानकारी दिने क्रममा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टीले गठबन्धनबाट आफूलाई निशाना बनाउने काम भए गठबन्धन छोड्ने चेतावनी दिएको बताए ।
उनले भने, ‘गौर हत्याकाण्डका बारेमा उठ्यो । जसपाका साथीहरुले हामीलाई गठबन्धनमा यसरी नै टार्गेट गरिरहने हो भने गठबन्धनमा रहने, नरहने सोच्नुपर्छ भन्नेखालको शंकास्पद कुरा व्यक्त भएको छ । कानूनसम्मत ढंगले टुंग्याउने कुरा भएको छ ।’
गौर १७ बर्षअघि तत्कालिन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमबीच आमसभा आयोजना गर्ने विषयमा विवाद भएपछि फोरमका कार्यकर्ताले माओवादीका २७ जना कार्यकर्तालाई विभत्स ढंगले हत्या गरेका थिए । सत्ता राजनीतिका कारण उक्त घट्नाको अहिलेसम्म छानविन र दोषीलाई कारवाही हुन नसके पछि केही दिनअघि पीडितहरुको आन्दोलनपछि सरकारले छानविन अघि बढाउन सहमत भएको हो ।