तँ कुटेजस्तै गर, म रोएजस्तै गर्छु झैं गरी सत्तापक्ष र प्रमुख प्रतिपक्षले संसद बन्धक बनाएः सिंह

Advertisement

काठमाडौं । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि संसदीय समितिको नेतृत्व चयन नगरेको आरोप लगाएका छन् । 

बिहीवार सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । सिंहले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताए । 

Advertisement

उनले सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका उब्जिएको बताए । सांसद सिंहले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए । उनले अहिले सरकारमा पनि कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षमा पनि कम्युनिष्ट पार्टी भएको भन्दै कम्युनिष्टहरुले संसदीय व्यवस्थामा विश्वास नगर्ने बताए । 

उनले काँग्रेस अहिले कम्युनिष्टहरुको पुच्छर भएको टिप्पणी गरे । सिंहले नेकपा (माओवादी केन्द्र) शुरुदेखि नै संसद बिरोधी पार्टी भएको र स्वार्थका लागि सत्ताको प्रयोग गरिरहेको पुष्टि भइरहेको बताए । 

उनले भने, ‘सरकारले समिति सभापति चयन गर्न नै चाहेको छैन, खासकुरा त्यो हो । आठ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन सकेको छैन् । समिति गठन नभएपछि सरकारलाई गाह्रो हुन्छ । सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुन दिइरहेको छैन् । सत्तापक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने शंका छ । अहिले संसद चल्न नसक्नु भनेको दुवै पक्ष मिलेका छन् । तँ कुटेजस्तै गर्, म रोएजस्तै गर्छु झैं गरेर सत्ता पक्ष र प्रतिपक्षले संसदलाई बन्धक बनाएका छन् । किनभने उहाँहरुलाई संसदीय व्यवस्थामा विश्वास नै छैन् । अहिले सत्तापक्ष पनि कम्युनिष्ट हो । प्रमुख प्रतिपक्ष पनि कम्युनिष्ट हो । काँग्रेस त पुच्छर हो त्यहाँ । माओवादी शुरुदेखि संसद बिरोधी पार्टी हो । कुनै पनि कम्युनिष्टमा संसदीय व्यवस्थामा हुँदैन् । कम्युनिष्ट प्रणालीमा संसद हुँदैन ।’

सांसद सिंहले कम्युनिष्टहरुलाई संसदीय व्यवस्थामा विश्वास नै नरहेको जिकिर गरे । 

Advertisement

Advertisement