‘संवृद्धि हाँसिल गर्न पहिला कांग्रेस बलियो नहुने दावी

नयाँ पार्टीले सामाजिक सञ्जाल प्रयोग गरेर जनताको दिमाख भुटे, कांग्रेस पछि पर्योः महत

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका छन् । 

राजधानीमा आयोजित आफ्नो पार्टीको एक कार्यक्रममा शनिबार उनले भने, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक जनतालाई पुर्याउने हो । समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन् । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’

Advertisement

महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे । उनले भने,  ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो । कोही व्यक्ति छैन् भने अर्को आउँछ । पार्टी अविच्छिन्न अघि बढ्छ । पार्टी बलियो हुन्छ । संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्छ ।’

कांग्रेसको सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ भन्दै उनले सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोडनुपर्ने बताए । यी सबै जोड्यो भने कांग्रेस बलियो हुने र मिसन सफल हुने महतले बताए । उनले भने, ‘एक्लैले केही हुनेवाला छैन् । हामी सबैमा भएको क्षमता र गुणलाई जोडौं भने मात्र कायापलट हुन्छ । कसैको बोल्ने क्षमता होला । कसैको संगठन गर्ने क्षमता होला । कसैको नबोली राजनीति कता जाँदैछ भनेर विश्लेषणसहित निर्णय गर्ने क्षमता होला । कोही पनि सर्वगुण सम्पन्न हुँदैन् । हनुमानले पहाड उचालेजस्तो कांग्रेसमा एक्लै पार्टी उचाल्ने मान्छे कोही छैन् । सबैको बल र बुद्धि उपयोग गरियो भने मात्र पहाड उचाल्न सक्छौं ।’

नयाँ पार्टीले आधा मिनेटको टिकटकमा समाजसेवा गर्छन्, अस्पतालमा पुर्याउँछन् भन्दै उनले थपे, ‘कार्यालयमा कतै सहयोग गरेको देखाउँछन् । यो दृश्य पटक पटक देखिन्छ । खोल्यो कि त्यही देखिन्छ । गज्जब गरेछन् भनेर हाम्रो ब्रेन वास हुन थाल्छ ।’ यथार्थमा कांग्रेस कार्यकर्ताले त्योभन्दा बढी समाजमा सहयोग गरिरहेको महतको दावी छ । 

उनले भने, ‘यी कुरा भिडियो खिचेर देखाउनुपर्छ भनेर हामीले सोचेनौं । यस्ता काम हामी सधैं गरिरहेका हुन्छौं, देशैभरि हाम्रा साथीहरुले गरिरहेका हुन्छन्, तर कांग्रेसले देखाउनका लागि गरेका छैनन् । देखाउने हाम्रो लक्ष्य होइन, हाम्रो लक्ष्य काम गर्ने हो ।’

कांग्रेस र अन्य दलको फरक देखाउँदै प्रवक्ता महतले नयाँ पार्टी र कांग्रेसभित्रको फरक जनतालाई बुझाउन जरुरी रहेको बताए । अब कांग्रेसले पनि सामाजिक सञ्जाल र सूचना प्रविधिको पनि उपयोग बढाउनुपर्ने उनले बताए । गरेको काम अब कांग्रेसले पनि देखाउनुपर्ने महतले बताए । यदि यो काम गरेनौं भने बोल्नेको पिठो पनि बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने उनले बताए ।

Advertisement

Advertisement