काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको बताएका छन् । शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ स्वास्थ्य चौकीको भवन उद्घाटनका क्रममा उनले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताएका हुन् ।
खड्काले सद्भाव खल्बल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको पहिचानको रुपमा नेपाली समाज रहेको र सो विविधताको पहिचानलाई जोगाउन सचेत भएर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘केही समय यता देशको विभिन्न ठाउँमा विभिन्न नाममा हाम्रो अत्यन्त मित्रतापूर्ण तरिकाले बसेको समाज, एकतावद्ध भएर बसेको समाज, धेरै धर्म, धेरै जात, धेरै क्षेत्र, धेरै भुगोल, धेरै वर्ण, धेरै वर्गबाट हेर्दा, सुन्दा धेरै भए पनि तर हामी एकताको सुत्रमा बाँधिएर सदियौँदेखि एकतावद्ध भएर अगाडी बढेको मुलुक नेपालमा विभिन्न बहानामा, विभिन्न नाममा, सामाजिक सद्भाव खल्बल्याउने, आम जनतामा निराशा उत्पन्न गर्ने, जनता–जनता, नागरिक–नागरिकका बीचमा विभिन्न बाहानामा द्वन्द्वको सिर्जना गर्ने खालका गलत घटनाहरुलाई प्रश्रय गराउने, बढाउने खालका प्रवृत्तिहरु पनि देख्न थालिएको छ ।’
खड्काले सामाजिक सद्भाव खल्बल्याउन अघि बढ्नेहरुलाई निरुत्साहित पार्नुपर्ने बताए । आपसी सद्भावलाई मजबुत बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उनले बताए ।