सरकारले गौर हत्याकाण्डका दोषीलाई कारवाही नगरे हेग जाने प्रभु शाहको चेतावनी

Advertisement

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् । सोमवार पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिएका हुन् । 

शाहले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भए पनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताए । उनले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताए । 

Advertisement

नेता शाहले सरकारले कानूनी शासनको खिल्ली उडाउने काम गरेको बताए । उनले सरकारले सत्ता जोगाउनका लागि गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरु चुप नलाग्ने बताए । 

शाहले भने, ‘गौर हत्याकाण्ड १७ वर्ष भइसक्यो । मुद्दा दर्ता छ । मुद्दा दर्ता भएपछि दुनियाँले बुझ्छ अब प्रक्रियामा जान्छ । १७ वर्ष अगाडी मुद्दा दर्ता छ तर कानून लाग्दैन । सरकारले भन्छ हामी छानबिन गर्छौैं, तर कुर्सी हल्लिने भएपछि भन्छ केहीदिन रोक्नुपर्छ । लटरपटर गर्नुपर्छ । केही गर्नु हुँदैन । भने यो कानूनको शासन हो ? कुर्सीको शासन भन्ने कि कानूनको शासन भन्ने ? न्यायको लागि सरकार बनेको हो कि ? कुर्सी बचाउन सरकार बनेको हो भन्ने प्रश्न आउँछ ? कानूनको शासनको खिल्ली उडाउने काम भएको छ । यदी सरकारले यसरी सत्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन् । हाम्रो पार्टी चुप लागेर बस्दैन । पीडितहरु नेपालमा न्याय पाउन सकेनन् भने अन्तर्राष्ट्रिय अदालत हेग जानसक्छ । यो चेतावनी दिन चाहन्छौँ हामी । यो कार्यक्रममार्फत सरकारलाई भन्न चाहन्छु, तपाईलाई कुर्सी प्यारो हो भने नेपाली जनता चुप लागेर बस्दैन । आम जनता पार्टी चुप लागेर बस्दैन ।’ गौर हत्याकाण्डमा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव मुख्य दोषीको रुपमा औंल्याइने गरेको छ । 

उनले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षी मात्रै बनाइएको बताए । प्रभु शाहले मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै सो निर्णयको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्ने बताए । 

मन्त्रिपरिषद्ले गर्ने निर्णयको जवाफदेहिता प्रधानमन्त्रीसँग हुने भएकाले यस प्रकरणमा तत्कालिन प्रधानमन्त्री पनि दोषी भएको उनले बताए । शाहले तत्कालिन प्रधानमन्त्रीहरुलाई कारबाही प्रक्रिया अगाडी नबढाएर दुनियाँलाई मुर्ख बनाइएको बताए । 

अध्यक्ष शाहले सत्तारुढ गठबन्धनका ठूला नेताहरु मिलेर सुन काण्डमा नाम जोडिएका नेताहरुलाई बचाउन लागिपरेको बताए । गठबन्धनको बैठक बसेर नाम जोडिएका ठूला नेताहरुलाई केही नगर्ने भनि निर्णय गरिएको उनले आरोप लगाए । शाहले सुन प्रकरणबाट जनता रिसाउने भएकाले जनताको ध्यान अन्तै मोड्नका लागि धरानमा अर्को काण्ड घटाइएको बताए । 

उनले ठूला नेताहरुलाई कानूनभन्दा माथि बनाउने प्रयत्न गरिएको बताए । कोही पनि व्यक्ति कानूनभन्दा माथि नहुने भन्दै दोषी जो कोही भएपनि कानूनी कारबाही गर्नुपर्ने बताए । 

Advertisement

Advertisement