चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्न कांग्रेस सहमहामन्त्रीको माग, खाँड निर्दोष भएको दावी

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । 

रिपोर्टर्स क्लबमा बुधबार उनले भने, ‘नेपालका लागि चिनियाँ राजदूतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौं ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’

Advertisement

यादवले चीनसँग पनि नेपालको मित्रवत् व्यवहार रहेको र चिनियाँ राजदूत भनेको दुई देशबीचको सम्बन्ध बलियो बनाउन आएको व्यक्ति हो भन्दै नेपालको अरू देशसँग सम्बन्ध बिगार्ने अधिकार कसैले पनि नदिएको बताए । 

चिनियाँ राजदूतको अभिव्यक्तिले नेपालको सार्वभामिकता हनन् भएको उनको भनाई छ । यादवले नेपालीहरुलाई उनले अपमानित गरेको आरोप पनि लगाए । उनले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदूतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्याउने काम गर्न नहुने बताए । 

यादवले भने, ‘विद्युतको कुरा गर्दा हामीले यसपटक १० अर्ब निर्यात गरेका छौं । भारतसँग भने १७ अर्ब विजुली किनेका छौं । नेपालमा लोडसेडिङ भएको बेला भारतले सहयोग गरेको हो । भारत हाम्रो विशेष छिमेकी मुलुक हो । हामीबीच खुला सिमा छ । संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन् । यही भएर विशेषखालको समबन्ध छ । यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्याउने काम गर्नुहुँदैन् ।’

उनले चिनियाँ राजदूतले नेपाल र भारतबीच भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाए । यादवले थपे, ‘उहाँले जुनखालको अभिव्यक्ति दिनुभयो, यो गलत हो । यो अविलम्ब रोकेर आईन्दा त्यस्तो काम नगर्न अनुरोध गर्दछु ।’ यादवले राजदूत सोङको उक्त अभिव्यक्तिबारे सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए । 

उनले भने, ‘परराष्ट्र मन्त्रायलले यो मामिलामा राजदूतसँग स्पष्टीकरण लिनुपर्छ । जुनसुकै मुलुकका राजदूत आएर यस्तो भन्न मिल्दैन् । चिनियाँ राजदूत हाम्रो हेडमास्टर होईन । उहाँले हामीलाई पढाउने होईन । सिकाउने होईन ।’

नेपालको सबै देशसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै देशका राजदूतले आफूहरुलाई कुटनीतिक मामिलामा सिकाउने स्वीकार्य नभएको यादवको टिप्पणी थियो । उनले भने, ‘कुटनीति हामीलाइ पनि थाहा छ । चिनियाँसँग कसरी सम्बन्ध राख्ने हामीलाई थाहा छ । हामीले चीनलाई केरुङ–काठमाडौं रेलमार्ग बनाईदेउ भनेका छौं । तर भएको छ त रु हामीले त अनुदान र फ्रि मा बनाउन भनेका छौं । पोखराको एयरपोर्ट चाहिने लागत भन्दा दुई गुणा बढिमा निर्माण भएको छ । अहिले त्यसको प्रयोग नै भएको छैन् । त्यसको पनि ऋण थपिएको थपिएै छ । ब्याज बुझाउन सकेका छैनौं ।’

उनले चीनले हालै जारी गरेको आफ्नो नक्शामा नेपालको चुच्चे नक्शालाई नराखेकोमा पनि आपत्ति जनाए । यादवले भने, ‘चीनले आफ्नो नक्शा जारी गर्यो, अरु देशको जमिन राखेर बनाउने होईन । हाम्रो चुच्चे नक्शा छ । संसद्ले पास गरेको छ । अहिलेसम्म चीनले किन त्यो चुच्चे नक्शा राखेन । चीनसँगका हाम्रा नाकाहरु कोभिडकै बेलामा बन्द भए । हामीलाई धेरै अप्ठ्यारो भएकोले राहत पाएनौं । तर, भारतबाट राहत पायौं । हामीलाई परेको बेलामा भारतबाट सहयोग भैरहेको छ । अब चिनियाँ राजदूतको हेडमास्टरीपना बन्द होस । पढाउने कोशिस नगर्नुहोस । सरकारले स्पष्टीकरण सोध्नुपर्छ । लिनुपर्छ ।’

उनले भ्रष्टाचारको मुद्दामा आफ्नो मान्छे बचाउने र अरुलाई प्रतिशोध साँध्ने काम गरेको आरोप लगाए । यादवले भने, ‘सबैले भ्रष्टाचार नहोस भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनसिलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरुको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको बताए । यादवले भने, ‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाईएको छ । दोष केही पनि छैन् । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन् ।’ 

Advertisement

Advertisement