दैनिक २० किलो सुन ल्याउन पाउने प्रस्ताव राष्ट्र बैंक पुग्यो, ‘अब बोर्ड बैठकबाट निर्णय हुन्छ !’

Advertisement

काठमाडौं । दैनिक सुन ल्याउन पाउने कोटा १० किलोबाट बढाएर २० किलो बनाउने प्रस्ताव राष्ट्र बैंकमा पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव राष्ट्र बैंक पुर्याएको हो ।

सुनको कोटा बढाउने प्रस्ताव राष्ट्र बैंकमा आइपुगेको बैंकका सहायक प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए । सापकोटाले भने, ‘सुन आयात गर्ने कोटा बढाउन बैंकमा पत्र आइपुगेको छ, अब बोर्ड बैठकबाट निर्णय हुनेछ ।’

Advertisement

चाडपर्वको समयमा सुनको खपत बढी हुने भएकाले कोटा बढाउन माग गरेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले बताए । अध्यक्ष शाक्यले भने, ‘अहिलेको दैनिक १० किलोको कोटाले सुनको माग धान्न गाह्रो छ, हामीले दैनिक २५ किलो बनाउन माग गरेका छौं ।’ 

राष्ट्र बैंकले सुनमा कोटा प्रथा सुरु गरेपछि सुन तस्करीको घटना बढ्दै गएको छ । वैदेशिक मुद्रा संचितिमा असर गर्ने भन्दै सुन आयातमा कोटा प्रथा सुरु गरिएको छ । हाल वाणिज्य बैंकहरुले पालैपालो सुन आयात गरेर बिक्री बितरण गर्दै आएका छन् । यसरी बिक्री गरेवापत बैंकले सुनको कुल मूल्यको ०.६ प्रतिशत कमिसन बैंकले प्राप्त गर्छन् । ल्याएको सुन धेरै समय बिक्री नभए होल्डिङ चार्ज समेत उनीहरुले लिन्छन् । 

बैंकले कोटा बढाउने र अर्थ मन्त्रालयले सुनको भन्सार महशुल बढाउँदा सुन तस्करीलाई थप सहज भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले चालु वर्षको बजेटमार्फत सुनको भन्सार महशुल दर १५ प्रतिशत पुर्याएका छन् । विलासी वस्तुको आयात वृद्धि कम गर्न भन्सार दर वृद्धि सही विधि भए पनि यसबाट हुने दुष्परिणाम भने आंकलन गरिएको छैन् । यसले गर्दा सुन तस्करी मौलाउन पुगेको छ । सुन तस्करहरु मोटाएका छन्, जसको आंशिक लाभ सरकारी बेतनधारीहरुले लिने मौका पाएका छन् । 

सुन तस्करीमा छोटे सुन तस्करको मात्रै संलग्नता नभएर भारत तेस्रो मुलुकमा रहेका ठूला तस्करहरुको समेत हात रहेको सहजै अनुमान लगाउन सकिन्छ । सुन वाणिज्य बैंकहरुले मात्रै नभएर व्यावसायीहरुले पनि लयाउन पाउने माग गरिरहेका छन् । नेपाल सुन चाँदी व्यावसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले व्यवसायीले पनि सुन आयात गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

Advertisement