जीवन बीमामा थप शिथिलताको संकेतः थप घट्यो बीमा पहुँच, व्यवसायमा पनि उच्च गिरावट

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात् साउन मसान्तसम्म आउँदा बीमाको पहुँच थप घटेको छ । 

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट प्राप्त साउन मसान्तसम्मको तथ्यांकअनुसार साउन मसान्तसम्म बीमाको पहुँच घटेर ४२.७० प्रतिशतमा सीमित भएको छ । 

Advertisement

म्यादी, लघुम्यादी र बैदेशिक रोजगार बीमालेखसहित बीमाको पहुँच सो विन्दुमा देखिएको हो । अघिल्लो आव २०७९–८० को अन्तिमसम्म बीमाको पहुँच ४४.३८ प्रतिशत पुगेको थियो । त्यस समयसम्म बीमाको पहुँच निरन्तर बढ्दो क्रममा थियो । 

तर, गत आवदेखि भने बीमाको पहुँच उल्टै घट्दै गएको छ । गत आवको साउन महिनामा बीमाको पहुँच घटेर ४४ प्रतिशतमा सीमित भएको थियो । गत असारसम्म त्यो थप घटेर ४३.२७ प्रतिशत कायम भएको थियो । चालु आवको साउनसम्म पहुँच थप घटेर ४२.७० प्रतिशत पुगेको छ । 

बीमा कम्पनीहरुले नयाँ व्यवसाय समेत विस्तार गर्दै गएका छन् । तर, तथ्यांकले भने बीमाको पहुँच उल्टै घटेको देखाएको छ । वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको पहुँच धेरै देखिए पनि वास्तविकरुपमा बीमाको पहुँच निकै कम छ । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेख हटाउँदा बीमा पहुँच १७.४८ प्रतिशत देखिन्छ । गत असारसम्म यस्तो पहुँच १८.०३ प्रतिशत थियो । 

वैदेशिक रोजगार जीवन बीमलेख बाहेकको अवस्थामा भने ३५.८६ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको देखिन्छ । गत असारसम्म यस्तो पहुँच ३६.५३ प्रतिशत नेपालीमा थियो । तथ्यांकअनुसार साउन महिनामा जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या २.२४ प्रतिशतले घटेको छ । 

गत आवको साउन मसान्तसम्म जीवन बीमा कम्पनीहरुमा एक करोड ४० लाख २१ हजार ५४० वटा पोलिसि सक्रिय थियो । चालु आवको साउनसम्म आउँदा त्यो घटेर एक करोड ३७ लाख सात हजार २५१ वटामा सीमित भएको छ । गत असारसम्म सक्रिय पोलिसिको संख्या एक करोड ३८ लाख ८१ हजार ४९२ थियो । पछिल्लो एक महिनामा त्यो थप घटेको छ । 

सक्रिय पोलिसि संख्याकै आधारमा बीमा पहुँच गणना गरिन्छ । अहिले सक्रिय पोलिसि संख्या घटेपछि बीमा पहुँच पनि घटेको देखिन्छ ।

बीमा व्यवसायमा पनि गिरावट 
चालु आवको साउनमा जीवन बीमा व्यवसाय पनि ५.२६ प्रतिशतले घटेको छ । गत आवको साउन महिनामा जीवन बीमाशुल्क संकलन १९ अर्ब ६० करोड ६९ लाख रुपियाँ थियो । चालु आवको साउनमा त्यो ५.२६ प्रतिशतले घटेर १८ अर्ब ५७ करोड ४९ लाख रुपियाँमा सिमित भएको तथ्यांकमा उल्लेख छ । 

समीक्षा महिनामा जीवन बीमामा सबै भन्दा धेरै हिस्सा हुने नविकरण व्यवसाय नै ९.०९ प्रतिशतले घटेको छ । गत आवको साउन महिनामा नविकरण बीमाशुल्क १७ अर्ब ३० करोड ८९ लाख रुपियाँ थियो । चालु आवको साउनमा त्यो १५ अर्ब ७३ करोड ५१ लाख रुपियाँमा सीमित भएको छ । 

समीक्षा महिनामा नयाँ व्यवसाय अर्थात् प्रथम बीमाशुल्क भने २३.५८ प्रतिशतले बढेको छ । गत आवको साउन महिनामा दुई अर्ब २९ करोड ८० लाख रुपियाँ प्रथम बीमाशुल्क संकलन भएको थियो । चालु आवको साउनमा भने दुई अर्ब ८३ करोड ९८ लाख रुपियाँ बीमाशुल्क संकलन भएको छ ।
प्रथम बीमाशुल्क संकलन बढे पनि नवीकरण शुल्कमा रकमकै आधारमा उच्च गिरावट आएको छ । त्यसले कूल बीमाशुल्क सकंलनमा ह्रास देखाएको हो । 

गत आवमा जीवन बीमा व्यवसाय झण्डै १० प्रतिशतले बढेको थियो । गत आवभरमा एक खर्ब ५६ अर्ब ५० करोड रुपियाँको बीमा व्यवसाय भएको थियो । त्यो भन्दा अघिल्लो आव २०७९–८० मा भने एक खर्ब ४२ अर्ब ३५ करोड रुपियाँ जीवन बीमाशुल्क संकलन भएको थियो । त्योअनुसार गत आवमा जीवन बीमा व्यवसाय उच्च दरमै बढेको थियो । तर, चालु आवको पहिलो महिना साउनमै जीवन बीमा व्यवसायमा भने ह्रास आएको छ । 

पछिल्लो एक बर्ष यता नेपाली बजारमा तीन वटा लघुबीमा कम्पनीले कारोबार सुरु गरेका छन् । साथै, केही ठुला बीमा कम्पनीहरु पनि मर्ज भएर चुक्तापुँजी बढाइसकेको अवस्था छ । त्यसले उनीहरुको व्यवसाय विस्तार गर्ने क्षमता बढेको छ । मर्जमा नभएका कम्पनीहरु पनि हकप्रद शेयर लगायतको माध्यमबाट पुँजी बढाउँदैछन् । 

त्यसले पनि उनीहरुको व्यवसाय विस्तार गर्ने क्षमता बढ्दै छ । त्यो अवस्थामा बीमा व्यवसाय र पहुँच पनि बढ्नुपर्ने थियो । तर, उल्टै बीमा व्यवसाय र पहुँच घटेको प्राधिकरणको तथ्यांकले पुष्टी गरेको छ । यसले बीमा क्षेत्रमा मर्जर र लघुबीमा कम्पनीको आगमनको प्रभाव नभएको पनि पुष्टी गरेको छ । 

त्यसमाथि नियामक निकाय नेपाल बीमा प्राधिकरणले नियमित रुपमा प्रदेश र स्थानीय तहहरुसँग बीमा साक्षरता सम्बन्धी अन्तरक्रिया गर्दै आएको छ । स्वयम बीमा कम्पनीहरु पनि समय समयमा बीमा साक्षरता सम्बन्धी कार्यक्रम गर्दै आएका छन् । तर, त्यसको प्रभाव भने नदेखिएको यो तथ्यांकले पुष्टी गरेको छ । साथै, चालु आवमा बीमा व्यवसायमा थप शिथिल हुने संकेत पनि देखिएको छ । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताले गत दुई बर्षदेखि नै बीमा व्यवसायमा शिथिलता थियो । यद्यपि, व्यवसायको बृद्धिदर ऋणात्मक नै भएको थिएन । बिगतका बर्षहरुमा बीमा व्यवसायमा दोहोरो अंकको बृद्धि हुन्थ्यो । तर, पछिल्लो समय एकल अंकमा मात्रै व्यवसाय बढीरहेको थियो । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलता कारण अधिकांशले आर्थिक अभावको समस्या सामना गरिरहेका छन् । यस्तो समस्या बीमा गरेकै व्यक्तिहरुमा पनि भएको बताइन्छ । त्यो अवस्थामा कतिपय बीमितले आफ्नो पोलिसी सरेन्डर नै गरेर बीमा रकम फिर्ता लगेका छन् । 

साथै, कतिपय बीमितले आफ्नो पोलिसी नविकरण गर्न सकेको छैनन् । त्यो पोलिसी सरेन्डर पनि गरेका छैनन् । त्यस्तो पोलिसी पनि निष्क्रीय (ल्याप्स) भएर बसेको छ । त्यसले जीवन बीमा व्यवसाय प्रभावित बनाएपनि बृद्धिदर ऋणात्मक बनाएको थिएन । 

तर, चालु आवको पहिलो महिनामा भने बीमा व्यवसायको बृद्धिदर ऋणात्मक नै देखिएको छ । आर्थिक शिथिलताकै थप यस्तो समस्या आएको विज्ञहरु बताउँछन् । 

Advertisement