काठमाडौं । २६ वर्षमा बुद्ध एयरबाट २ करोडभन्दा बढी यात्रुले सेवा पाएका छन् । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयर आज २६ वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको हो ।
हाल बुद्ध एयरसँग ३ वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाज छन् ।
बुद्ध एयरले अक्टोबर महिनाभित्रै थप अर्को एटीआर जहाज भित्र्याउन लागेको छ । योसँगै बुद्ध एयरको जहाज सङ्ख्या १७ पुग्नेछ ।
कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकता अनुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए ।
पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ । यसबाहेकका गन्तव्यहरुमा पनि आधा दर्जनभन्दा बढी उडान रहेको छ । सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि विस्तारै उडान सङ्ख्या थप्ने बताइएको छ ।