एमालेको मिसन— ८४ः एकल बहुमत, ओली नै प्रधानमन्त्री, ‘बुढो कांग्रेसको कुनै नीति छैन्’

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको मिसन—८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । 

सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए । 

Advertisement

ओलीले बहुमत ल्याएपछि आफू नै पुनः प्रधानमन्त्री हुने संकेत पनि गरे । उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताउँदै अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको तर्क गरे । 

नेता ओलीले आफूलाई अध्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको बताए । उनले काँग्रेसको कुनै नीति र विधि नरहेको बताए । ओलीले भने, ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार । एकल बहुमतको सरकार कम्ति भनेको हामीले, यो नहुने भन्ने कुरै छैन् ।’ 

उनले थपे, ‘संविधानले जनतालाई भोट नखसाल भन्छ ? थोरै मात्रै खसाल भन्छ ? एउटा पार्टीलाई थोरै खसाल वा सबै पार्टीलाई बराबर बाँड भन्छ र ? हामी जनताका बीचमा जानुपर्छ, सम्झाउनुपर्छ र हामीले जनताबाट मत प्राप्त गर्नुपर्छ । बहुमत किन आउँदैन ? हरेक वडामा ५१ प्रतिशत, हरेक टोलमा हाम्रो संगठन, हरेक घरमा सदस्य, त्यो काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीले आफू र आफू निकट अवयवलाई सक्रियतापूर्वक सञ्चालन गर्नुपर्छ । योजनावद्ध तरिकाले । आजको समस्या अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेका छन् । गिर्खे कुरा गरेर जनता अल्मल्याउनेहरु छन् । पार्टी पुरानो बुढो नहुने होइन, विचार र सिद्धान्तको अभावमा पार्टी बुढो भएको छ । आफूलाई अध्यावधिक गर्न सकेन भने बुढो हुन्छ । हामी नेपाली काँग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बुढो हुन्छ भन्दा नेपाली काँग्रेस जसरी । त्यो देखिएको छ । नेपाली काँग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन । महाधिवेशन भनेको के हो भने मान्छे जम्मा हुने । नीति, विधिको कुरा उहाँहरुले नीति विधि कहिले बनाउनु भयो । मान्छे छान्नु मात्रै लोकतन्त्र होइन । विधि बिनाको मान्छे छनाइ के छनाइ ? त्यो त कुनै कुनै नयाँ पार्टीले को को उम्मेदवार हुन्छ ल भन त भनेको जस्तो ।’

Advertisement

Advertisement