काठमाडौं । ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान) गर्दा कालापत्थर अवतरण गर्न नपाउने भएपछि विदेशी पर्यटकहरु निराश भएका छन् । विभिन्न देशबाट विदेशी पर्यटकहरु सर्वोच्च शिखर हेर्न आउने गरे पनि कालापत्थरमा उडान गर्न नपाएपछि पर्यटक आउन कम हुने अनुमान गरिएको छ ।
कोही विदेशी पर्यटकहरु सिजनमा सगरमाथा लगायत विभिन्न हिमालहरु आरोहण गर्न नेपाल आउँछन् भने अफ सिजनमा उनीहरु नेपाल आएर पर्वतीय उडानमार्फत सगरमाथा हेर्ने सपना पूरा गर्ने बताउँदै एक हेलिकप्टर कम्पनीका कर्मचारीले कालापत्थरमा हेलिकप्टर अवतरण गर्न नपाउने कुराले यसरी आउने पर्यटकहरुमा कमी हुने चिन्ता प्रकट गरे ।
गएको असारमा ‘मनसुन अवधि–सेप्टेम्बरसम्म’ भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पर्वतीय उडानमा रोक लगाएको थियो । प्राधिकरणले सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरेको हो । मनसुन अवधि सकिएसँगै यही अक्टोबर १० बाट पर्वतीय उडान सुचारु भएको छ ।
सगरमाथा हेर्न पर्वतीय उडानमा जाने पर्यटकको संख्या बर्षेनी हजारौं हुने गर्छ । यस वर्ष गत वर्षको तुलनामा विदेशी पर्यटकहरु बढी नै नेपाल आए । तर कालापत्थरमा हेलिकप्टर अवतरण गर्न नपाउने नयाँ नियमले गर्दा यस्तो उडानमा जान नपाएर धेरै पर्यटकहरु निराश भएको ती कर्मचारीले बताए ।
उनले भने, ‘गोरक्षेप, लोबुचे, फेरिचेमा भन्दा पनि कालापत्थरमा धेरै वटा हेलिकप्टरहरु अटाउनसक्ने ठाउँ छ । तर माउण्टेन फ्लाइट गर्दा कालापत्थरमा अवतरण गर्न नदिने निर्णय गरियो । यसमा हामी कम्पनीहरुको मात्रै होइन्, विदेशी पर्यटकहरुको पनि धेरै गुनासो छ । उनीहरु निराश भएका छन् । विदेशी पर्यटकहरु धेरै पैसा खर्च गरेर नेपालमा आएर सगरमाथा हेर्न र फोटो खिच्न खोज्छन् । जब कालापत्थरमा हेलिकप्टर अवतरण गर्न नपाइने नयाँ नियम सुनेपछि उनीहरुको सपना अधुरो हुन्छ । ’
प्राधिकरणले सगरमाथा अवलोकनका लागि पर्वतीय उडानमा जान दिए पनि यस पटक भने कालापत्थरमा हेलिकप्टर अवतररण गर्न दिन रोक लगाएको छ । हेलिकप्टर घुमाएर मात्र ल्याउन पाइने तर अवतरण गर्न नपाइने कुराले पर्यटकहरुको सपना अधुरो हुने कम्पनीहरुको भनाई छ ।
हेलिकप्टर कम्पनीका ती कर्मचारी भन्छन्, ‘माउण्टेन फ्लाइटको लागि धेरै सोधपुछहरु आइरहेको छ । माउण्टेन फ्लाइट भनेको अफ सिजनमा हुन्छ । जुन विदेशी पर्यटकहरु नेपाल थोरै समयको लागि आउँछन्, उनीहरु पर्वतीय उडानमार्फत सगरमाथा हेदै कालापत्थरमा ओर्लिएर तस्वीर खिचाउन चाहान्छन् । तीन–चार दिनको लागि आएको पर्यटक कालापत्थर हिँडेर त जाँदैन् । अवतरण गर्न नदिएपछि सगरमाथामा टेक्ने र तस्वीर खिच्ने उसको सपना अधुरै हुने भयो । आर्थिक हिसावले भन्दा नेपाललाई घाटा पनि हो ।’
साथै, उनले बर्खाको समयमा पर्वतीय उडान बन्द भएर अहिले खुलेको कुरा धेरै विदेशी पर्यटकले थाहा पाउन नसकेको बताए । ती कर्मचारी भन्छन्, ‘यहाँ माउण्टेन फ्लाइट बन्द हुने सूचना फैलिहाल्छ । तर, खुुलेको कुरा त्यति पर्यटकमाझ पुग्दैन् । पुगे पनि ढिलो पुग्छ । गत वर्ष यतिबेला माउण्टेन फ्लाइटको लागि धेरै आएका थिए । फलाइट पनि राम्रो भएको थियो । मौसमले पनि साथ दिँदा एक दिनमै तीन वटासम्म माउण्टेन फ्लाइट गराएका थियौं । यसपाली त्यस्तो छैन् ।’
सगरमाथा क्षेत्रमा रहेको कालापत्थर (५,६४४ मिटर) उचाइमा रहेको छ जहाँबाट सगरमाथालाई नजिकबाट नियाल्न सकिन्छ । सगरमाथाको पृष्टभूमिमा फोटो खिचाउने धोको पूरा गर्नका लागि कोही पैदलमार्गबाट त कोही पर्वतीय उडानमार्फत कालापत्थर पुग्ने चलन रहँदै आएको छ । तर पर्वतीय उडानमा एउटा हेलिकप्टर दुर्घटना भएको भन्दै प्राधिकरणले यस्तो उडानमा कडाई गरेको हो ।
यस बर्षबाट पर्वतीय उडानमा ‘ओभर फ्लाइट’ मात्र गर्न मिल्ने भएपछि १० प्रतिशत मात्रै यस्तो उडान भएको कम्पनीहरुको भनाई छ । यसले हेलिकप्टर कम्पनीहरुलाई पनि ठूलो घाटा भएको छ । पछिल्लो समयमा भारतीय पर्यटक तथा भारतीय मुलका गैरआवासीयहरु पनि पर्वतीय उडानमार्फत हिमाली क्षेत्रको दृश्यावलोकनमा जाने क्रम बढेको बेला प्राधिकरणको निर्णयले ठूलो असर परेको हेलिकप्टर कम्पनीहरुको गुनासो छ । यसले हेलिकप्टर कम्पनीहरुलाई आर्थिक संकटतर्फ धकेलेको कम्पनीका सञ्चालकहरु बताउँछन् ।