बालेन शाहको मर्यादाक्रम घटाउने योजनामा कांग्रेस, एमाले र माओवादीका साँसदहरु

Advertisement

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन शाहको मर्यादाक्रम घटाउने तयारी गरेका छन् । 

पछिल्लो समयमा लोकप्रिय रहेका मेयर बालेनको बढ्दो लोकप्रियताबाट रुष्ट रहेका ठूला दलका नेताहरुले बालेनको मर्यादाक्रम घटाउने प्रस्ताव गरेका हुन् । हाल काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम १० औं स्थानमा छ । यो क्रमलाई झारेर १७ नम्बरमा पुर्याउने कुरा विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा गरिएको छ । 

Advertisement

यो प्रस्तावित विधेयक जस्ताको तस्तै राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भए काठमाडौंसहित देशैभरिका महानगरका मेयरको मर्यादाक्रम एकै लहरमा रहनेछ । बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले कुनै महानगर प्रमुखको मर्यादाक्रम अगाडि र कुनै पछाडि हुन नहुने तर्क गर्दै महानगर भनेपछि सबै एउटै भएको तर्क गरेका थिए । तर यसअघि राजधानीको महानगरपालिकाका प्रमुखलाई विभिन्न कारणले मर्यादाक्रममा अगाडि राखिएको थियो । 

तर अहिले बालेनको बढ्दो लोकप्रियताबाट त्रसित भएका नेताहरु उनलाई निरुत्साहित गर्ने उद्देश्यबाट प्रेरित भएर मर्यादाक्रम बढाउने प्रयासमा लागेका हुन् । यसले पुनः बालेन र कांग्रेस तथा कम्युनिष्टका नेताहरुबीचको तिक्तता बढाउने देखिएको छ । 

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले पनि ‘सबै महानगर प्रमुखलाई एउटै मर्यादाक्रममा राख्नुपर्छ’ भनेपछि विधायन व्यवस्थापन समितिले सोही अनुसार निर्णय लिएको हो ।

यो विधेयकको प्रतिवेदन मंगलबार राष्ट्रिय सभाको बैठकमा पेश गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाको बैठक मंगलबार पुनः साँझ ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको छ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक ५ चैत २०७९ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यहरुले सामूहिक रुपमा ल्याएको यो विधेयक गैरसरकारी विधेयक हो ।

Advertisement

Advertisement