राष्ट्रसंघका महासचिवलाई संसदमा बोल्न दिने निर्णयप्रति संसदका पूर्वमहासचिवको आपत्ति

Advertisement

संसद सचिवालयमा पूर्वमहासचिव मनोहर भट्टराईले संयुक्त राष्ट्र संघका महासचिवलाई संसदमा सम्बोधन गर्न दिने कुराप्रति विमति राखेका छन् । नानसँगको कुराकानीमा उनले अधिवेशन चलिरहेको अवस्थामा त्यही बैठक कक्षमा नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन गÞर्ने व्यवस्था मिलाइनु अनौठो लागेको प्रतिक्रिया दिएका हुन् । 

राष्ट्रसंघका तत्कालिन महासचिव वान कि मुनलाई सम्बोधन गराउन सहजीकरण गर्ने भूमिकामा समेत रहेका भट्टराईले राष्ट्राध्यक्ष, राष्ट्र प्रमुख वा सरकार प्रमुख बाहेकलाई संसदमा सम्बोधन गर्न दिनेबारे गहिरो विमर्श गरेको भए राम्रो हुने थियो भने । 

Advertisement

स्वीट्जरल्याण्डको सभामुखले नेपाल भ्रमण गर्दा र बर्माको प्रजातन्त्रका लागि संघर्षरत नेतृ आङसााङ सुकीले पनि भ्रमण गर्दा संसद सदस्यलाई सम्बोधन गरेको तर उनीहरु सबैले संसद्को बैठक हाल भन्दा बाहिरकोे हलमा कार्यक्रम आयोजना गरेको कक्षमा सम्बोधन गरेको स्मरण गरे । 

भट्टराईले भने, ‘विदेशी नियोगका प्रमुखहरु भन्दा पनि बढी राष्टप्रमुखहरुले संसदको बैठकलाई सम्बोधन गर्ने परम्परा यसभन्दा अगाडि पनि भएको कुरा हो । राष्ट्रसंघका तात्कालिन महासचिव वान कि मुनले पनि तात्कालिन संविधान सभाका सम्पूर्ण सदस्यहरुलाई सम्बोधन गर्नुभएको हो । महासचिवको भ्रमण कुटनीतिक दृष्टिकोणले निकै महत्वपूर्ण छ । भ्रमणलाई उत्साहप्रद र अविष्मरणीय बनाउका लागि सरकार, संसद लगायत सबै संवद्ध पक्षहरुले जे जति तयारी गर्नुभएको छ, त्यो देख्दाखेरी राष्ट्रसंघका महासचिव पूर्णतः हर्षले गदगद हुनुहुन्छ होला भन्ने मलाइ लाग्छ । यो आफैँमा उल्लेखनीय कुरा हो । राष्ट्रसंघको महासचिव जहाँ पायो त्यहाँ जाने वा जहिले पनि उपलब्ध हुने पद होइन । पदाधिकारी होइन । त्यसकारण हामी सबैले खुशी व्यक्त गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’ 

संसदको संयुक्त बैठकलाई राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसले सम्बोधन गर्दाखेरी भनेका कुराहरु संसदको स्थायी अभिलेखमा सुरक्षित रहन्छ भन्दै भट्टराईले विशिष्ट व्यक्तिलाई सम्बोधन गर्न दिने भन्ने सन्र्दभमा पहिलेको नियमावलीमा राष्ट्रप्रमुख र राष्ट्राध्यक्षलाई मात्र दिने भन्ने रहेको स्मरण गरे । 

उनले भने, ‘अहिले नियमावली संशोधन गरेर विशिष्ट व्यक्तिहरुले समेत सम्बोधन गर्नसक्ने भन्ने व्यवस्था मिलाइएको छ । यस्तै कुराहरुलाई हेरेर गरिएको हो कि भन्ने मलाई लाग्छ । सामान्यतया संसदमा प्रचलित परम्पराहरु हेर्ने हो भने राष्ट्रप्रमुख र राष्ट्राध्यक्ष भन्दा तलको प्रोटोकलमा गएको मलाई थाहा छैन् । यसभन्दा अगाडी पनि राष्ट्रसंघका महासचिव वान कि मुन नेपाल भ्रमणमा आउँदाखेरी संविधान सभाका तत्कालिन सदस्यहरुलाई सम्बोधन गर्ने कुरा भयो । त्यसबेलामा पनि यो विषय संसदकै अधिवेशन हुने हलमै सम्बोधन गर्ने हो या अन्यत्र कार्यक्रम मिलाउने हो भन्ने विषयमा प्रश्न उठेको थियो । त्यतिखेर मैले स्पष्ट ढंगले राजनीतिक नेतृत्वलाई यो कुरा राखेको थिएँ । उहाँ राष्ट्राध्यक्ष, राष्ट्र प्रमुख होइन । त्यसो भएर प्रोटोकल भन्दा बाहिर गएर हामीले हलमै कार्यक्रम गर्न नियमत मिल्दैन र परम्परा हेर्दा पनि भएको देखिएन् । त्यसैले हामीले ल्होत्से हलमा सबै सभासदहरुलाई उपस्थित भएको अवस्थामा संयुक्त राष्ट्रसंघका महासचिवबाट सम्बोधन गराउने कार्यक्रम मिलाएका थियौँ । त्यसमा खास कसैको बिरोध भएको थिएन । अन्तर्राष्ट्रिय अभ्यासमा थोरै देशहरुले मात्र राष्ट्रसंघका महासचिवलाई सम्बोधन गराएको देखिन्छ । छँदै छैन भन्न मिल्दैन । तर बहुतै नगन्य देशहरुमा मात्र उहाँको सम्बोधन रहेको पाइन्छ ।’

Advertisement

Advertisement