कांग्रेस नेताको गुनासो– पूराना दलहरु सबै ‘बेठिक हुन्’ भनियो, 'व्यवस्था जोगाउन एक हौं’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पूराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको गुनासो गरेका छन् । 

बिहीवारको संसद बैठकमा काँग्रेसका तर्फबाट बोल्दै उनले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताएका हुन् । 

Advertisement

लेखकले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी गरे । उनले संविधान सफल बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । लेखकले संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताए । 

उनले राजनीतिक दलहरु संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गरे । लेखकले भने, ‘अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन् । यदी यो संविधान असफल भयो भने मुलुक एउटा अत्यन्त अनिष्टकारी खतरा, अफ्ठ्यारोमा पुग्न सक्छ । किनभने यो संविधान मुलुकमा धेरै ठूला राजनीतिक संघर्षहरु क्रान्ति, बलिदानहरु ७० वर्ष लामो योगदानबाट प्राप्त भएको हो । यो संविधान पनि असफल हुने स्थिति आयो भने यसले मुलुकलाई राम्रो गर्दैन । यो संविधान सफल गर्नुछ ।’ 

उनले थपे, ‘यो संविधान सफल गर्नका लागि पनि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्छ । यो संविधान र अहिलेको व्यवस्थामा यदाकदा यसका बिरुद्धमा आवाज उठाउने गरिएको छ । प्रायोजित रुपमा उठ्ने गरेको छ । यो व्यवस्थै खराब हो, यो संविधान नै खराब हो । यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् । पुराना राजनीतिक दलहरु बेठिक हुन् । यी अब काम लाग्दैनन् । केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढंगले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ । यो देशका लागि खतरा छ । यो संविधान र व्यवस्था असफल भयो भने मैले आग्रह गरेँ । यसले मुलुक ठिक ठाउँमा पुग्दैन । हामी राजनीतिक दलहरु यो संविधानको सुरक्षाका लागि र यो व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी छ । कतिपय प्रायोजित कुरा छन् ।’

लेखकले प्रायोजित षड्यन्त्रलाई चिर्न सबै गणतन्त्रवादी दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । 

Advertisement

Advertisement