काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी-चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ ।
हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु भएसँगै पर्यटकहरु पनि शाहसिक पर्यटनमा आकर्षित भएका हुन् ।
भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुन्छ । चन्द्रागिरी—२३ सय मिटरबाट शुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । अप्रतिम दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुने बताउँछन् प्रशिक्षक पाइलट सुनुवार ।
प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरुलाई मोहित पार्छ ।
उनले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने बताए । यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको बताए । उडान गर्नेहरुका लागि पिकअपको लागि सोह्रखुट्टे र कलंकीमा पुग्नुपर्नेछ । समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने उनको भनाइ छ । एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको बताए । ६ वर्षदेखिको दौडधुपले काम सफल भएकोमा खुशी लागेको बताए ।
उडानका लागि अहिले ६ जना पाइलट रहेको र आवश्यकताअनुसार बढाउँदै लैजाने पनि बताए । शुरुवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमा आउनेलाई ८ हजार रुपियाँ लाग्ने बताए । त्यस्तै फोटो भिडियोसहित विदेशी नागरिकलाई पनि हाललाई १२ हजार तोकेको बताए । मौसमले साथ दिएसम्म ३० देखि ४० जनाले दिनमा प्याराग्लाइडिङ गर्नसक्ने बताए । उनकाअनुसार अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी रहेको छ ।
यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरु भने चित्लाङ पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउँछन् । सर्वसाधारण मदन खड्काले चन्द्रागिरीबाट चित्लाङ प्याराग्लाइडिङ गर्दा पर्यटनका साथै रमाइलो अनुभव गर्न सकिने बताए ।
त्यस्तै प्याराग्लाइडिङ गर्न चन्द्रगिरी पुग्नुभएका नेपाल प्रहरीकास हायक हवल्दार सुवास कुमारले प्याराग्लाइडिङ गरिसकेपछि कुरा गर्दै रमाइलो लागेको अनुभव सुनाए । उनले सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक काम र पहलकदमी गर्नुपर्ने बताए ।
यता चित्लाङ घुम्न आउनुभएका सिन्धुलीका शिक्षक लक्ष्मीप्रसाद घिमिरेले चित्लाङमा प्याराग्लाइडिङ नयाँ आएको र आम नागरिकले धेरै मन पराएको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि आकर्षक हुनसक्ने विश्वास व्यक्त गरे ।
उनले चित्लाङ र काठमाडौंमा पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ टर्निङ प्वाइन्ट बन्नसक्ने भन्दै सरकारले व्यवसायिक लगानी गरेर भएपनि आवश्यक चासो र हौसला प्रदान गर्नुपर्ने बताए ।