चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन्: सांसद थापा

Advertisement

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताएका छन् । 
     
रासससँगको कुराकानीमा उनले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गरे । भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा २४ हजार दुई सय ३९ मतका साथ विजयी थापाले फरक तहको काम र जिम्मेवारी फरक फरक हुनुपर्ने भएपनि हामीकहाँ सबै जनप्रतिनिधि सबै किसिमका जिम्मेवारीमा व्यस्त हुन रुचाउने गरेको आफूले पाएको बताए । 

जनताको अपेक्षा पनि कानुनले निर्धारण गरेकोभन्दा फरक हुने गरेको उनले अनुभव छ । थापाले भने, “मैले सदनमा पहिलो दिन उपस्थित भएर शीर्ष नेताको सम्बोधन सुनेपछि त झन सांसदभन्दा म वडाअध्यक्ष लड्नुपर्ने रहेछ माननीय भइन्छ भन्ने लाग्यो ।”     
     
उनले आफूले सानो उमेरदेखि अहिलेसम्म राजनीतिक नेतृत्वबाट एउटै कुरा सुनिरहेको उल्लेख गर्दै थपे, “सानो छँदा पनि मत माग्न आउने नेताहरुले बाटो, खानेपानी, बिजुली, पुल, पुलेसालगायत कुरा बनाइदिने आश्वासन दिने गर्थे, अहिले पनि जनताको त्यही अपेक्षा छ भने के चाहिँ परिवर्तन गर्यौं त हामीले ? जनताले पनि चुनावमा सांसदसँग बाटो माग्ने होइन नि त । चुनाव जित्नलाई बाटो नै बनाउनुपर्नै रहेछ, अनि कसरी कानुन निर्माणमा केन्द्रित हुने ।’   
     
हामीकहाँ पहिला घर बनाउने अनि बाटो, बिजुली, पानी र अन्य सुविधा पुर्याउनुपर्ने चलन रहेको बताउँदै नेता थापाले त्यस्ता आधारभूत सुविधा भएको स्थानमा पो घर बनाउनुपर्ने होइन ? भनी प्रश्न गरे । उनले भने, “अनि हामीजस्ता राजनीति गर्नेले त्यस्ता स्थानमा बाटो खोल्दिन्छु बिजुली ल्याई दिन्छु भन्नुपर्ने रहेछ ।” यो कुराको चिरफार गर्न आवश्यक रहेकामा थापाको भनाई छ । 
     

Advertisement

Advertisement

Advertisement