एनसेल प्रकरणमा आफ्नो समेत नाम जोडिएको बेला प्रधानमन्त्रीले अध्ययन गर्न निर्देशन दिए

Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीद बिक्री प्रकरणबारे अध्ययन गर्न निर्देशन दिएका छन् । 

स्वतन्त्र साँसद डा. अमरेशकुमार सिंहले एनसेल प्रकरणमा प्रधानमन्त्री दाहाल र उनकी छोरी गंगाको समेत संलग्नता औंल्याइरहेको बेला दाहालले शेयर खरीद बिक्रीबारे अध्ययन गर्न निर्देशन दिएका छन् । 

Advertisement

अदालत र नियामक निकायलाई चुनौति दिँदै एनसेलको होल्डिङ कम्पनी र स्थानीय साझेदारले मुलुकबाहिरै ८० प्रतिशत शेयर खरिद–बिक्री गरेपछि यो विषय निकै चर्चा र चासोको विषय बनेको छ । प्रधानमन्त्री दाहालले यस विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । 

उनको सचिवालयकाअनुसार राजश्व अनुसन्धान विभाग लगायतका निकायलाई एनसेलको शेयर खरिदको छानबिन गर्न निर्देशन दिएका छन् । सचिवालयले भनेको छ, ‘एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्‍त्री पुष्पकमल दाहालले गम्भीर चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्‍त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजश्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’

एनसेलको शेयर खरीद बिक्रीमा भएको अनियमितता र बदमासीबारे संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई नौ वटा प्रश्न सोधिसकेको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी र वैदेशिक लगानीका सन्दर्भमा प्रत्यक्ष सरोकार राख्ने नेपालस्थित सरकारी निकायलाई जानकारी नै नदिई शेयर खरिद–बिक्री भएपछि समितिले चासो राख्दै सरोकारवाला निकायलाई प्रश्न गरेको हो । समितिले यसको विवरण पनि माग गरेको छ । 

दूरसञ्चारसम्वन्धी कानुनअनुसार पाँच प्रतिशतभन्दा बढी शेयर खरीद बिक्री गर्दा नियामकको अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसैसम्वन्धमा परेको मुद्दामा उच्च अदालत पाटनले आउँदो मंसिर २५ गते सम्वन्धित पक्षलाई बोलाएको बेला एनसेलको मलेसियन लगानीकर्ता आजियटा ग्रुप बर्नाडले एनसेलको स्थानीय साझेदार सतिशलाल आचार्यले बेलायतमा भर्खरै खडा गरेको काम चलाउ कम्पनीलाई करिव साढे छ अर्बमा बिक्री गरेको कुरा सार्वजनिक गरिएको थियो । 

Advertisement

Advertisement