माओवादीनिकट पर्यटन व्यवसायी संगठनको अधिवेशनमा मन्त्री किरातीको खुलेरै आलोचना

Advertisement

काठमाडौं । सत्तासीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनको कार्यक्रममा मन्त्री सुदन किरातीको व्यापक आलोचना भएको छ । 

शनिबार राजधानीमा भएको सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा सोहि पार्टीबाटै प्रतिनिधित्व गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराती कार्यसम्पादनभन्दा पनि स्टन्टबाजी ज्यादा भएको आरोपसमेत वक्ताहरुले लगाएका छन् ।

Advertisement

पार्टीकी उपाध्यक्ष पम्फा भुसालले पानसमा बत्ती बालेर उद्घाटन गरेकी छन् । भुसालले अधिवेशनलाई सम्बोधन गर्दै देशको विकासका लागि पर्यटन एक महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रबद्र्धनका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी भुसालले कोरोना कालमा सबैभन्दा बढी मारमा परेको पर्यटन अझै पनि उठ्न नसकेकोले आफ्नै पार्टीका नेताको नेतृत्वमा मन्त्रालयले पार्टी र सरोकारवालाको सुझाबअनुसार काम गर्नुपर्ने धारणा राखिन् ।

नेपाल उद्योग व्यापार महासंघका इन्चार्ज टेक बहादुर बस्नेतले अधिवेशनमा बोल्ने सम्पूर्ण वक्ताहरुका सुझावहरु निकै नै अनुशरणिय रहेकाले वर्तमान सरकारले आत्मसाथ गरेर यस पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले आफ्नो पार्टीका नेता सुदन किराती पर्यटन मन्त्री भए पनि सो क्षेत्र लथालिङ्ग हुनु दुर्भाग्य भएको बताए । आफूहरुले मन्त्री किरातीसँग धेरै विषयमा छलफल गर्न खोज्दा पनि नसुनेको गुनासो गर्दै भने, ‘हाम्रो पार्टीबाट प्रतिनिधित्व गर्ने कुनै पनि मन्त्रीले कुरा नसुनेपछि प्रधानमन्त्री प्रचण्डलाई आन्दोलन गर्ने चेतावनीसमेत दिएका छौं ।’

सो संगठनका संयोजक नवराज दाहालले नेपालको पर्यटनको विकासका लागि वर्तमान समय अनुसार गुरुयोजना बनाउनुपर्नेमा जोड दिएका छन् । अधिवेशनको अध्यक्षतासमेत गरेका दाहालले नेपाल पर्यटन बोर्डलाई समग्र पर्यटनको प्रवद्र्धन र संवद्र्धनको जिम्मा भए पनि ‘सेतो हात्ती’ जस्तै भएको आरोप लगाएका छन् । ‘हाम्रो मन्त्री हुनुहुन्छ सुन्नु भएको छैन तर पनि हामी सुनाउने प्रयासमा छौं,’ उनले थपे ।

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले वर्तमान मन्त्री किराती आवश्यक काम भन्दा सस्तो लोकप्रियताको लागि मिडियाबाजीमा रुमलिएको आरोप लगाए ।  महतले पर्यटन क्षेत्रको विकासका लागि धेरै काम गर्न सकिने भएपनि खासै काम हुन नसक्नु दुर्भाग्य भएको भन्दै चिन्ता व्यक्त गरे । विगतमा विश्वका विभिन्न शहरहरुमा उड्ने नेपाली ध्वजावहाक हवाईजहाज अहिले कालोसूचीमा रहेको बताउँदै भने, ‘मन्त्रीले कालोसूचीबाट हटाउँछु भन्ने तर हट्दैन यसमा कसको दोष छ ? उत्तर खोजौं ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले जो–जो जहाँ वा जुन पार्टी विचारका भएपनि देशको आर्थिक तथा विकासको मेरुदण्ड पर्यटन क्षेत्रको विकासका लागि पूर्वाग्रहरहित भएर लाग्नुपर्ने बताए ।

नेपाल उद्योग महासंघका अध्यक्ष ज्योति अधिकारीले कोरोना जस्तो महाविपत्तिमा पनि टिकेर देशमै केही गरौं भन्ने पर्यटन व्यवसायीप्रति राज्य उदासिन रहेको बताउँदै भने, ‘अब ढिला भइसक्यो कहाँ कसरी कसलाई दबाब दिने हो दिउँ, तर छिटो गरौं ।’

नेपाल राट्रिष्य पर्यटन व्यवसायी संगठनका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले पर्यटन मन्त्री आयोजक संगठनको माउपार्टीको भएकाले उनलाई सही बाटो देखाउने काम पनि उसैको भएको बताए । ‘प्रधानमन्त्री र पर्यटन मन्त्री तपाईंहरुकै हुनुहुन्छ हल गर्नुस नभए हामी कहाँ कसरी हुन्छ साथ दिन्छौं,’ सापकोटाले थपे ।

Advertisement

Advertisement