भ्रष्टाचारविरुद्ध माधव नेपाल कडारुपमा प्रस्तुत, ‘नियन्त्रण गर्न सरकार कमजोर भयो’

Advertisement

काठमाडौं । सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् । 

आइतवारबाट राजधानीमा सुरु भएको आफ्नो पार्टीको केन्द्रीय परिषद् बैठकमा उनले मुलुकमा विद्यमान व्यवस्थाबिरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले संघीय गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए । 

Advertisement

माधव नेपालले गठबन्धन दलहरुले तयार पारेका न्युनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिए । उनले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराए । नेता नेपालले जलवायु परिवर्तनले पारेका असरहरुलाई न्युनिकरण गर्नका लागि सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए । 

उनले भने, ‘सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको छ । आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ । मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै पतिगमनकारी तथा पश्चागमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु सञ्चालन गरी राजनीतिक अस्थिरता पैदा गर्ने र सामाजिक सद्भाव खलबल्याउने कोशिस भइरहेको छ । यस्तो अवस्थामा वर्तमान बाम लोकतान्त्रिक शक्तिको सरकार सामु निश्चित दायित्वहरु छन् ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा संलग्न रहेकाले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको दाबी समेत गरे । 

Advertisement

Advertisement