खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौंसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का खोटाङ संयोजक सन्तोष राईले एक करोड पाँच लाख १३ हजार ठगी गरेको उजुरी परेको जानकारी दिएका छन् । “वैदेशिक रोजगारीमा पठाउने बहनामा ठगीमा परेको जनाउँदै चालू आर्थिक वर्षमात्रै १५ जनाले उजुरी दिएका छन् । पीडितको उजुरीमा २३ लाख ४० हजार ५०० ठगी भएको उल्लेख छ,' उनले भने, 'विदेश जाने नाममा म्यानपावर र एजेन्टलाई पैसा दिए पनि लामो समयसम्म विदेश नपठाएपछि र पैसा फिर्ता नदिएपछि पीडित आप्रवासी स्रोत केन्द्रमा आइपुग्ने गरेका छन् ।'
सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा हालसम्म म्यानपावर र एजेन्टबाट १० लाख ६८ हजार रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गराएको छ ।
चालु आव स्रोत केन्द्र दिक्तेलमा परेका उजुरीमध्ये जिल्ला प्रहरी कार्यालय खोटाङले एक लाख ५० हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकेको संयोजक राईले जानकारी दिए ।
खोटाङ सबैभन्दा बढी वैदेशिक रोजगारमा जानेको सूचीमा पर्छ । वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै जिल्लामा वैदेशिक रोजगारका समस्या पनि बढ्दै गएको पाइएको हो । आव २०८०/८१ को पछिल्लो पाँच महिनामा खोटाङबाट तीन हजार ३४१ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसमा महिला ३२२ रहेको स्रोत केन्द्रले जानकारी दिएको छ । दश स्थानीय तह रहेको खोटाङबाट गत वर्ष नौ हजार ८०६ जना युवाले श्रम स्वीकृति लिएको पाइएको छ। यसमा ८३१ महिला छन् ।