मुद्रणसम्वन्धी छलफलमा मन्त्री रेखा शर्मा नआएपछि संसदीय समितिको बैठक नै स्थगित

Advertisement

काठमाडौं । बोलाइएकी मन्त्री नआएपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारको बैठक स्थगित भएको छ । सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई बोलाइएको थियो । 

बोलाइएको बैठक उनी अनुपस्थित भएसँगै स्थगित गरिएको हो । बैठकमा विधेयक सम्बन्धमा छलफल गर्न संसद नियमावलीमा सम्बन्धित मन्त्रीको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार समितिमा छलफलका लागि आमन्त्रित सांसद रघुजी पन्तले मन्त्रीको उपस्थिति बिना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति भानुभक्त जोशीलाई ध्यानाकर्षण गराएका थिए । 

Advertisement

समिति सभापतिलाई सांसद पन्तले संसद नियमावलीको १७८ को दफा ४ हेर्न आग्रह गरेका थिए । उनले मन्त्री बिना समिति बैठक चल्न नसक्ने अडान लिएसँगै सभापति जोशीले सञ्चारमन्त्री अस्वस्थ भएको कारण बैठकमा उपस्थिति हुन नसक्ने जानकारी गराएका थिए । 

प्रतिनिधि सभा नियमावली २०७९ को १७८ को (४) मा समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था छ । अन्य कार्यसूचिमाथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ ।

 

Advertisement

Advertisement