पोखराका पर्यटन व्यावसायीको माग– पर्यटन बोर्डमा हाम्रो प्रतिनिधित्व सुनिश्चित गरिदिनुपर्यो

Advertisement

काठमाडौं । पोखराका पर्यटन व्यावसायीहरुले मुग्लिन–पोखरा सडक बेहाल हुँदा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरुको छ खर्ब लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

पोखराका पर्यटनसम्वन्ध विभिन्न संघसंस्थाले आज (मंगलबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन राईलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको ठूलो लगानी जोखिममा परेको बताएका हुन् । 

Advertisement

ज्ञापनपत्रमा भनिएको छ, ‘पर्यटकीय राजधानी शहरको रुपमा घोषणाको प्रक्रियामा रहेको पोखरा जोड्ने मुख्य सडकहरुको हालको अवस्था विकराल रहेको अवस्थामा पोखरा अन्तर्राष्ट्रय विमानस्थलबाट हालसम्म पनि अन्तर्राष्ट्रिय उडान सुचारु हुन सकिरहेको छैन् । छ खर्बभन्दा बढी निजी क्षेत्रबाट लगानी रहेको पोखरा र समग्र पर्यटनको विश्वबजारमा थप बजारीकरणको आवश्यकता रहेको अवस्थामा पर्यटन प्रवर्द्धन र विकासका लागि स्थापना भएको नेपाल पर्यटन बोर्ड आफै सुस्ताउन पुग्यो भने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय त छ कि छैन् ? व्यावसायीले कुनै अनुभूति समेत गर्न पाएका छैनन् ।’ 

पर्यटन बोर्डमा पोखराबाट प्रतिनिधित्व नभएको पनि उनीहरुले असन्तुष्टि जनाएका छन् । पोखरा र यसको सेरोफेरोका पर्यटकीय गन्तव्यहरु छायाँमा परेको भन्दै पर्यटन प्रवर्द्धनका लागि स्थापित बोर्डको ठूलो रकम प्रवर्द्धनभन्दा पनि भौतिक निर्माणका काममा खर्च विनियोजन हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । बोर्ड जुन उद्देश्यका लागि स्थापना भएको हो, सोहीअनुसार जिम्मेवारी दिन व्यावसायीहरुले माग गरेका छन् । 

पर्यटन बोर्डको पुर्नसंरचनासहित हाल हुन लागेको कार्यकारी बोर्ड सदस्यमा संस्थागत साथै पोखरामा नै रहेर पर्यटन व्यावसाय सञ्चालन गर्नेहरुबाट प्रतिनिधित्वको सुनिश्चितता गर्न उनीहरुको माग छ । त्यसका लागि साझा प्रतिनिधित्व हुने गरी प्रतिनिधि सिफारिस गर्न आफूहरु तयार रहेको व्यावसायीहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् । 

Advertisement

Advertisement