पूर्वमन्त्री पौडेल र दुई भूटानीको सवारी दुर्घटनामा मृत्यु

Advertisement

काठमाडौं । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनको निधन भएको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कँर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो । भरतपुर महानगरपालिका–१७ बनगाई निवासी पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । 

Advertisement

नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आएका थिए । विसं २०३६ मा विद्यार्थी नेता हुँदै गर्दा वनारसबाट बिपी कोइरालाको सन्देश लिएर नेपाल आउनुहुन्थ्यो । नेता पौडेलले साविक चितवन क्षेत्र नं ४ को दुई पटक क्षेत्रीय सभापति भएर काम गरेका थिए । उनको निधनमा नेपाली कांग्रेस चितवनले दुःख व्यक्त गरेको छ ।

जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु
यसैबीच, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । 

बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो । 

दुर्घटनामा  घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताउनुभयो । घाइते हुनेमा सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिका–२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची  र ५६ वर्षीय फुँङ रहेका छन् । 

घाइतेलाई उपचारका लागि  हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement