काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरुलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।
आफन्तहरुले सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ ? सो व्यवस्था चाँडो गर्न आग्रह गरेका छन् । रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीहरुलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताए ।
उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरु बाँच्ने अवसर शुन्य बराबर हुने बताए । राईले रुसी सेनाले नेपालीहरुलाई सबैभन्दा अगाडि लगाइ युद्ध गराउने गरेको बताए । युक्रेनीहरु क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालीरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको बताए ।
राईले भने, ‘हामी नेपालीहरु सिधै फिल्डमा नै जाने हो । उनीहरु हामीलाई ताकेर नै बसेका हुन्छन् । हामी बाँच्नै चान्स त कम नै हुन्छ । बाँच्नै चान्स नै छैन । बाँच्नु भनेको जिरो प्रतिशत हो । हामी मैदानमा फिल्डमा जाने हो । युक्रेनीहरु सिधै क्याम्पतिर बसेको हुन्छ । उनीहरुले हामीलाई नापी नापी हानेको हुन्छ । हामी नेपालीहरु धेरै मरिरहेको हुन्छ । उनीहरुले सार्वजनिक गरेको छैन । ४ देखि ५ सय भन्दा बढी नेपालीहरु मरिसकेका छन् ।’
उहाँकाअनुसार अहिलेसम्म सार्वजनिक नभएको भएपनि ५ सय भन्दा बढी नेपालीहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरुलै छिटो भन्दा छिटो उनीहरुलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे । रुसी सेनामा भर्ती भएका नेपालीहरु धेरै नै समस्यामा रहेको बताए । उनीहरुले पैसाकै लोभमा गएको भएपनि उनीहरुलाई सरकारले स्वदेश फिर्ता ल्याउने पहल गरिदिनुपर्ने बताए ।
उनीहरुले सरकारले पहल गर्ने हो भने समस्या समाधान हुनसक्ने र त्यसका लागि चाँडो भन्दा चाँडो पहलकदमी लिन आवश्यक रहेको बताए ।