गर्ने भए केपी ओलीलाई भ्रष्टाचारमा कारबाही गरौं, धरहरामा निःशुल्क पार्किङ बन्द हुन्नः बालेन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुन्धरास्थित धरहरा परिसरमा निर्माण गरिएको भूमिगत पार्किङ बन्द नहुने घोषणा गरेका छन् । 

नयाँ सडकमा पार्किङ निषेध गर्दै बालेनले सो ठाउँमा निःशुल्क पार्किङको विकल्प दिनासाथै धरहरा निर्माणको काम पूरा नभएकाले पार्किङ नगर्न केन्द्रले निर्देशन दिएपछि उनले त्यसको कडा प्रतिवाद गरेका हुन् । 

Advertisement

बालेनले यदि निर्माण सम्पन्न भएको थिइन् भने दुई बर्षअघि नै तत्कालिन प्रधानमन्त्री केपी ओलीले किन उद्घाटन गरे ? भन्दै यसरी निर्माण सम्पन्न नहुँदै नाम लेखाउन उद्घाटन गर्ने कुरा भ्रष्टाचार भएकाले ओलीलाई कारवाही गर्नुपर्ने पनि औंल्याएका छन् । 

सामाजिक सञ्जालले उनले लेखेका छन्ः 

२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ।’ 
तर केही दिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’

उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगें ? भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।

सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।

अन्त्यमा सो स्थानमा  पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ  ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर  नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल  कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौ ।

Advertisement

Advertisement