काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा घटेसँगै अन्य वित्तीय सूचक पनि नकारात्मक देखिएका छन् ।
गत आवको सोही अवधिमा ४ अर्ब २५ करोड ४७ लाख रुपियाँ नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ३ अर्ब ९३ करोड १४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ७.६० प्रतिशत कम हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशत र वित्तीय आम्दानी ८.६१ प्रतिशतले घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ३.५८ प्रतिशतले घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३.५९ रुपियाँले घटेर ४३.६८ रुपियाँमा सीमित भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ५०३.७६ रुपियाँ र मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ ।
१८ अर्ब रुपियाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपियाँ सञ्चित छ ।