काठमाडौं । राजधानीका पाँच तारेसहित तीन ठूला होटलमा दुषित खाद्य वस्तु भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले गरेको अनुगमनमा बुधबार यस्तो अखाद्य वस्तु भेटिएको हो ।
विभागले बत्तिसपुतलीको होटल द्धारिकाज, बबरमहलको बसेरा बुटिक होटल र लाजिम्पाटको होटल ले हिमालयनमा अनुगमन गर्दा अखाद्य बस्तुहरु फेला परेको जनाएको हो ।
बसेराबाट म्याद गुज्रिएका सामग्री रोटी र जुस भेटिएपछि अनुगमन टोलीले तीन लाख रुपियाँ जरिवाना गरेको छ । म्याद जुज्रिएका सामान दुई हजार २८० रुपियाँको भएको विभागको भनाई छ ।
यस्तै, विदेशी भीभीआईपी समेत आएस बस्ने गरेको पाँच तारे होटल द्धारिकाजमा कुहिएको पिठो, खाद्यान्नमा प्रयोग गर्ने हरियो कलर र कोकोनट क्रिम भेटिएको हो । यस्ता रंग र क्रिम स्वास्थ्यका लागि हानीकारक र निषेधित छन् । यी वस्तुको बजार मूल्य ११ हजार ५४० रुपियाँ छ । द्धारिकाजलाई पनि तीन लाख रुपियाँ जरिवाना गरिएको छ ।
यसैगरी, लाजिम्पाटमा रहेको होटल ले हिमालयले उपभोग म्याद गुज्रिएको दुध, मेथी, ब्रेड, दही, पिठो प्रयोग गरेको भेटिएको छ । करिब १० हजार ८२० रुपियाँ बराबरको अखाद्य वस्तु प्रयोग गर्न लागिएको विभागको भनाई छ । यो होटललाई पनि विभागले तीन लाख रुपियाँ जरिवाना गरेको छ ।