तीन लाख युक्रेनी सैनिक मारिएको रुसी दावीपछि जेलेन्स्कीले भने– ३१ हजार मात्रै हो

Advertisement

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्धमा हालसम्म आफ्ना ३१ हजार  सैनिकको मृत्यु भएको खुलासा गरेका छन् । 

जेलेन्स्कीले दावी गरेभन्दा निकै धेरैको मृत्यु भएको अनुमान गरिए पनि उनले ३१ हजारको मृत्यु भएको बताएका छन् । युद्धमा घाइते हुनेहरुको संख्या भने जेलेन्स्कीले खुलाएनन् । 

Advertisement

अमेरिकी अधिकारीहरूले गत अगस्टमा ७० हजार युक्रेनी सैनिक मारिएको र एक लाख २० हजार मानिस घाइते भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । युक्रेनले भोगेको मानवीय क्षतिको रुसले अतिरञ्‍जित तथ्याङ्क सार्वजनिक गरेको भन्दै जेलेन्स्कीले त्यसलाई आफूले यथार्थपरकरुपमा प्रस्तुत गरेको बताएका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगीहरुले दावी गरेजस्तो तीन लाख वा एक लाख ५० हजार जस्तो मिथ्या सङ्ख्या होइन भन्दै उनले तर मारिएको हरेक व्यक्ति आफूहरुका लागि ठूलो क्षति भएको बताएका छन् । 

रुसले कब्जा गरेको क्षेत्रहरूमा हजारौँ सर्वसाधारणको मृत्यु भइसकेको र त्यो संख्या ठ्याक्कै थाहा हुन नसकेको जेलेन्स्कीले भने, ‘मलाई थाहा छैन कति मरे, कतिलाई मारियो, कतिलाई यातना दिइयो, कतिलाई निकाला गरियो ।’

रुसतर्फ भने एक लाख ८० हजार सैनिक मारिएको र दसौँ हजार घाइते भएको उनले बताए । यही फेब्रुअरीमा ब्रिटेनको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा तीन लाख ५० हजार रुसी सैनिक मरिसकेको वा घाइते भएको बताएको थियो ।

राष्ट्रपति जेलेन्स्कीले यो सबै जानकारी उनका रक्षामन्त्री रुसटम उमेरभले पश्चिमा मित्रराष्ट्रहरूले सैन्य सहायता प्रदान गर्न ढिलाइ गरेको भनी असन्तुष्टि पोखेपछि प्रस्तुत गरेको बीबीसीले जनाएको छ । 

Advertisement

Advertisement