‘सगरमाथा चढ्दा चीनको समय देखाउँछ, सगरमाथा चीनको हो कि नेपालको ?’

Advertisement

काठमाडौं । इन्टरनेशनल फेडरेसन अफ माउन्टेन गाइड्स एसोसिएसन (आईएफएमजीए)का माउन्टेन गाइड तथा ट्याक नेपालका संस्थापक पासाङ टेन्डी शेर्पाले नेपालको सगरमाथा गुगलले चीनको समय देखाउने गरेको भन्दै दुःख व्यक्ति गरेका छन् । 

बुधबार राजधानीमा आयोजित ७१औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा उनले भने, ‘सगरमाथाको क्याम्प–४ हाम्रो नेपालमा पर्छ । तर त्यहाँ पुग्ने बित्तिकै मोवाइल अथवा घडीमा समय चाहिँ चीनको समय देखाउँछ । अब हाम्रो यो सगरमाथाको आधार शिविर नेपालमा होकी चीनमा हो ? मलाई यो कुरामा एक्दम दुःख लाग्यो ।’ 

Advertisement

आफूहरुले हिमालमा जे देख्यो, त्यो कुरा भनेको हो भन्दै शेर्पाले थपे, ‘हामी भनेको नेपालको हो । सरकार भनेको हाम्रो हो । त्यसैले हामीले यसलाई कसरी हुन्छ ध्यान दिएर के गर्नुपर्ने हो ? गर्नुपर्छ ।’

शेर्पाले हिमाल आरोहीहरुको बीमाको रकम १५ लाख रुपियाँबाट बढाएर ५० लाख बनाउनुपर्ने र स्वास्थ्य बीमाको रकम पनि रकम बढाउनुपर्ने बताए । अहिले आरोहीहरुको हकमा बीमा रकम पर्याप्त नरहेको बताउँदै ‘जम्मा १५ लाखको बीमाले के हुन्छ ?’ भनी प्रश्न गरे । 


शेर्पाले भने, ‘यति रकम त कोही मृत्यु भइहाल्यो भने तीन दिनमै सकिन्छ । त्यसपछि के गर्ने ? त्यसैले पनि यो बीमाको रकम बढाएर ५० लाख बनाउनुपर्छ ।’ सरकारले नेपालका धेरैभन्दा धेरै हिमाल आरोहणका लागि खुल्ला गर्नुपर्ने उनले बताए । आरोही हुनु र हिमालमा गाइड गर्नु सजिलो पेशा नभएको शेर्पाको अनुभव छ । 

उनले आफूले पर्वतारोहणका क्षेत्रमा दुई दशक बिताउँदै यस वर्ष नभए अर्को वर्ष सहज होला भन्दै आशैआशामा काम गर्ने गरेको तर स्थिति झनझन गाह्रो हुँदै गएको महशुस गरेको बताए । पूराना हिमाल आरोहीहरु अन्य पेशा तथा मुलुकमा पलायन भएको औंल्याउँदै शेर्पाले आरोहीहरु आरोहण पेशामा कुनै पनि हिसावले सुरक्षित नरहेको बताए । 

उनले भने, ‘यो पेशामा भविष्य छैन् । सबैले यो कुरा उठाएको अवस्था छ । त्यो मैले आपैmले पनि महशुस गरेको कुरा हो । हामी आरोहीहरु, गाइडहरु खुम्बु आइसफल पार गर्दै सगरमाथा आरोहण गर्छौं । सगरमाथा आधार शिविरदेखि क्याम्प–१ सम्म पार गर्दाखेरी प्रत्यक सेकेन्ड जीवन रक्षाको लागि भगवानसँग प्राथना गर्छौं । सगरमाथा हाम्रो एक किसिमको भगवान हो । हाम्रो देशको गर्व हो । त्यो हिमाललाई थोरै विश्वास गरेर हामी आरोहीहरु, गाइडहरु प्रार्थना गरेर जान्छौं जसले गर्दा आज २० वर्षपछि म यो ठाउँमा उभ्भिएर एउटा अनुभव सुनाउँदा गर्व लागेको छ ।’  

जलवायु परिवर्तनको असरले गर्दा दिन प्रतिदिन हिमालमा हिमनदीहरु पग्लने क्रम बढेकोमा शेर्पाले चिन्ता जनाए । उनले थपे, ‘हामी हिमालमा काम गर्नेलाई थाहा छ हिमालमा के भइरहेको छ ? यता काठमाडौंमा केही थाहा छैन् । दश वर्षदेखि हिमाल पग्लने क्रम उच्चरुपमा बढेर गएको छ । हिउँ पग्लिने कुराले सम्पूर्ण हिमाललाई अस्थिर बनाएको अवस्था छ । त्यसले गर्दा आरोहीहरुको ज्यान अझ बढी जोखिममा परेको छ ।’ 

टेण्डी शेर्पाले विगत २० वर्षको अवधिमा आफूले धेरै साथीहरु हिमालमा गुमाएको सुनाए । अहिले हिमालमा काम गरिरहेका आरोही, गाइडलाई सोही पेशामा जोगाएर राख्न सरकारले ध्यान दिनुपर्ने उनले बताए । शेर्पाले भने, ‘हिमालमा काम गर्नेहरुमा आफना छोराछोरीलाई, आउने पुस्तालाई हिमालमा नै काम गराउने सपना मर्दै गएको छ । किनभने यो पेशालाई उनीहरुले सुरक्षित ठान्न छोड्दै गएको छ । हिमालमा सजिलै पैसा कमाउर्दैन् । ग्लासियरमा ३०–५० केजीको भारी बोकेर एक–दुई रुपियाँ बोनस कमाएर त्यो पैसाले आफ्नो छोराछोरी पढाउने, डाक्टर, इन्जिनियर बनाउने सपना देखेको हुन्छ । यसरी नै एकाएक शेर्पाहरु हराउँदै जाने हो भने अबको १० वर्षपछि हाम्रो आरोहण क्षेत्रको अवस्था के हुन्छ ?’

अहिले हिमाल आरोहीहरुले आरोहणमा भन्दा विदेश नै सुरक्षित ठान्न थालेको शेर्पाले बताए । उनले हिमाल आरोहणमा तालिम नभएका, अनुभव नभएका आरोहीहरु बढेको भन्दै यो कुरालाई पनि सरकारले ध्यान दिन जरुरी रहेको बताए । 

Advertisement

Advertisement