गण्डकी प्रदेशको बजेटको  प्राथमिकतामा पर्यटन र उद्यमशीलता

Advertisement

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा उद्यमशीलतालाई जोड दिएको छ । 

गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले  विनियोजन बजेट तथा कायक्रमको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सीपमूलक तथा उद्यमशीलतालाई मुख्य प्राथमिकतामा राखिएको बताए । 
    
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, व्यावसायिक कृषि प्रणालीको विकास, पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेशलाई पर्यटकीय प्रदेशका रुपमा प्रवद्र्धन गर्ने उनले बताए । दिगो पर्यटन विकास, विद्यालय विकास तथा शैक्षिक सुधार कार्यक्रम, उद्यमी युवा, सीपमूलक मानव पुँजी निर्माणजस्ता कार्यक्रमलाई प्रथमिकतामा राखिएको छ ।
    
त्यस्तै सङ्घीयताको सवलीकरण गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता,  सहअस्थित्व र समन्वयमा आधारित स्थापित सम्बन्धलाई थप प्रभावकारिता, सन्तुलित क्षेत्रगत विकास, सामाजिक  विकास र समानतामूलक समाजको स्थापना, दिगो विकास र वातावरण संरक्षण, सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा सुधारजस्ता कार्यक्रम ल्याइने जनाइएको छ ।
    
सुदृढ अर्थतन्त्र, प्रभावकारी आर्थिक नीति, दिगो वन व्यवस्थापनसँगै आयआर्जन, सूचना प्रविधिको विकास, खानेपानी, उज्यालो प्रदेश, सिँचाइ, सामाजिक सुरक्षा, खेलकुद, लैङ्गिक समानतालाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।

Advertisement

जलवायु परिवर्तन प्रभावलाई न्यूनीकरण गर्न विशेष कार्यक्रम ल्याउनुका साथै प्रदेशसभाको भवन निर्माण, शान्तिसुरक्षाका साथै विपद् व्यवस्थापनमा जोड दिइएको छ । सिद्धान्त प्राथमिकता सम्बन्धमा भएको छलफलमा प्रदेशसभा सदस्य जीतप्रसाद आलेले युवालाई विदेश जानबाट रोक्न युवालक्षित कार्यक्रम ल्याउन जोड दिँदै उद्यमशीलतामा बजेट बढी छुट्याउनुपर्ने आवश्यकता औँल्याए । 

Advertisement

Advertisement