दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल हुने

Advertisement

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । 

Advertisement

बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यसपछि बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

त्यसैगरी राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ । 

बैठकमा अर्थमन्त्री पुनले ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव नै प्रस्तुत गर्नेछन् ।

त्यसपछि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सचिवालयले जनाएको छ । 

साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ ।

Advertisement

Advertisement