जनकपुरमा अतिक्रमित नौ हजार बिघा जग्गाको ‘विग अपरेसन’ सुरु भइसक्योः गृहमन्त्री

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको नौ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको भन्दै सोको ‘विग अपरेसन’ सुरु गरेको बताएका छन् । 

आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गर्न शुक्रबार आयोजित कार्यक्रममा उनले जनकपुरमा जग्गा अतिक्रमणबारे गृह मन्त्रालयले ‘बिग अपरेशन’ सुरू गरेको जानकारी दिएका हुन् । उक्त प्रकरणबारे अनुसन्धानमा भएका विषयहरूको गहनताका कारण सार्वजनिक गर्न नसकिने मन्त्री लामिछानेले बताए । 

Advertisement

आफूहरु दिनरात गरेर काम गरिरहेको दावी गर्दै उनले कुनै पनि मुद्दामा सम्झौता नगर्ने बताए । लामिछानेले भने, ‘ती केसका आफ्नै जटिलता छन् । त्यसैले केही समय अवश्य लाग्छ । तर, सुशासन कायम गर्ने कुरामा सम्झौता हुँदैन । के भयो कसो भयो भन्नै पर्दैन । हुँदैछ । गर्दैछौं । समय आएपछि थाहा पाउनुहुन्छ । कुनै त्यस्तो व्यक्ति छैन जसलाई हामीले बचाउन परोस् । कुनै अभियन्ता, व्यापारिक घरानाको व्यक्ति कसैको पनि भारी बोक्ने होइन । हामीले बोक्ने भारी भनेको जनताले दिएको मतको भारी हो ।’

लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिनाभित्र आवश्यक कानूनी प्रवन्ध गर्ने बताए । औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको वैधानिकरणका लागि नीति बनाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि एक महिनाभित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्ने बताए । 

गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता गरेको जनाएको छ । मन्त्री लामिछानेको २७१ जना सुरक्षाकर्मी फिर्ता भएको बताएका हुन् । 

नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जनालाई फिर्ता बोलाउने कार्य भएको बताउँदै उनले सुरक्षाकर्मीलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलगायत तोकिएका मुख्य कार्यमा केन्द्रित गर्न विशिष्ट व्यक्तिहरूका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको बताए । 

प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिइएको लामिछानेको भनाई छ । 

Advertisement

Advertisement