गिरिबन्धुको अनियमितताबारे सीआईबीले उजुरी कुरेर बसेको छः गृहमन्त्री

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडी बढाइएको बताएका छन् । 

सोमवार संसदमा उनले राज्यका निकायले गरेको अनुसन्धानबाट जीबी राई मलेसियामा रहेको तथ्य पत्ता लागेको भन्दै उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरिसकेको बताए । 

Advertisement

कानूनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै लामिछानेले दुवै तर्फका राज्य संयन्त्र संवादमा रहेका बताए । उनले संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरेअनुरुपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिए । 

लामिछानेले जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए । उनले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतिक्षाको विषय बनेको बताए । 

मन्त्री लामिछानेले राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त रहेको बताए । उनले भने, ‘विभिन्न अनुसन्धानबाट राज्यका निकायले अहिले उनी (जीबी राई) मलेसियामा रहेको तथ्य पत्ता लगाएका छन् । उनलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा मैले त्यहाँका गृहमन्त्रीज्युसँग दुई पटक टेलिफोनमा कुराकानी गरेको छु । दुवैतर्फका राज्यस्तरीय संयन्त्रहरु संवादमा छन् र यी दुवै देश कानुनी राज्य भएका देश भएका हुनाले हामीले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने कुरा जानकारी गराउन चाहान्छु । नेपाल र मलेसियाबीच सुपुर्दगी सन्धी नभए पनि मलेसियाको सुपुर्दगी ऐन अन्तर्गत सन्धी नभएका मुलुकको अनुरोधमा आरोपितलाई सुपुर्दगी गर्न सक्ने व्यवस्था अन्तर्गत निरन्तर काम भइरहेका छन् । मलेसियाका गृहमन्त्रीसँगको दुईपटकको वार्ता जसमा सकारात्मक जवाफ मलेसिया सरकारको आग्रह बमोजिमका कागजपत्रहरु पठाउने क्रमको निरन्तरता, जीबी राईको राहदानी खारेजी प्रक्रियाहरु अगाडी बढाइए पनि राहदानी विभाग र अदालतले इन्कार गरिदिएको तथ्य हाम्रा कानूनी प्रावधान अनुसार अन्य जटिलता यसका कारणहरु हुन् ।’ 

लामिछानेले थपे, ‘तर अनेकौँ प्रयासहरु निरन्तर जारी रहेका छन् । जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रयासरत छ । प्रतिवद्ध छ । निरन्तर रुपमा लाग्दै आएका लाञ्छनाबाट मुक्ति पाउन, सत्यतथ्य उद्घाटित हुन व्यक्तिगत रुपमा मेरा लागि पनि उनको पक्राउ व्यग्र प्रतिक्षाको विषय हो । केही कानूनी जटिलता पार गर्दै राजनीतिक र कुटनीतिक सम्बन्धमार्फत जीबी राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा म पूर्ण विश्वस्त छु ।’

गृहमन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गिरिबन्धु टि इस्टेटम भएको अनियमिततासम्वन्धमा उजुरी कुरेर बसेको बताए । उनले उजुरी आएपछि कुनैपनि बेला यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तयार रहेको बताए । 

लामिछानेले भने, ‘सीआईबीलाई गिरिबन्धु टि इस्टेटका बारेमा उजुरी माग्नको निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अगाडी नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ । र केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरीको प्रतिक्षा गरेर बसिरहेको छ । कुनै पनि समय, कुनैपनि बेलादेखि भएका विभिन्न किसिमका यि घटनाहरुका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ । कुनैपनि काण्डका विषयमा डराउनुपर्ने, नबोल्नुपर्ने, कुनैपनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन । मेरो शरीरमा छैन । यो कुरा म स्पष्ट पार्न चाहन्छु ।’

Advertisement

Advertisement