अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अब सोझै बैंक खातामा पुरस्कार रकम जान्छः खेलकुदमन्त्री

Advertisement

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको बताएका छन् । 

आइतबार संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आगामी आर्थिक वर्षको बजेटमा सोको व्यवस्था गरिएको बताए । श्रेष्ठले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बजेट आवश्यक भएकाले स्थानीय स्तरमा जाने सशर्त अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गर्न नसकिएको बताए । 

Advertisement

उनले एशियन र साग खेलकुदमा पदक विजेता खेलाडीहरुका लागि छ हजारका दरले मासिक भत्ताको पनि व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरिएको बताए । 

मन्त्री श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा पुरस्कारको व्यवस्था गरिए अनुसार ४ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । आगामी वर्षदेखि पदक बिजेता खेलाडीलाई बैंक खातामार्फत नै पुरस्कारको रकम जाने व्यवस्था मिलाइएको छ ।’ 

उनले थपे, ‘ओलम्पिकमा सहभागी एशियन खेलमा पदक बिजेता, साग खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरु ३५७ जना मासिक ६ हजारको दरले मासिक भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि रकम विनियोजन गर्नु परेकाले प्रदेश र स्थानीय तहमा ससर्त अनुदानका कार्यक्रमहरुलाई बजेट विनियोजन हुन नसकेको हो । ’

मन्त्री श्रेष्ठले युवाहरुलाई कुलतमा राख्न नदिन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा केही रकम विनियोजन गरेको बताए । 

Advertisement

Advertisement