पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न लिङ्देन र भट्टराईको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन

Advertisement

काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखासमितिले राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समग्र अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ ।
     
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।  

समितिको यसअघिको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेबमोजिम उपसमिति गठन गरिएको उनले बताए । “राज्यको यति ठूलो लगानी भएको गौरवका आयोजना किन अलपत्र भयो, सञ्चालनमा भएका कमजोरी पत्ता लगाउन सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले दुई उपसमित गठन गरिएको छ”, सभापति पोखरेलले भने । 

Advertisement

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको छ ।
     
दुवै विमानस्थलको अध्ययनका लागि संघ र प्रदेशको लेखासमितिको सक्रियतामा साझा दस्तावेज तयार गरिने र त्यो सङ्घीय लेखासमितिको नेतृत्वमा हुने जनाइएको छ । दुवै उपसमितिलाई एक महिनाको समय दिइएको छ ।
     
समितिका सचिव एकराम गिरीकाअनुसार दुई विमानस्थलको स्थलगत अनुगमन र अध्ययन गरी सुझाव दिने उद्देश्यले समिति गठन गरिएको जानकारी दिए । उनले मुलुकको गौरवसँग जोडिएको र ठूलो लगानीमा बनेका परियोजनाले लामो समय किन प्रतिफल दिन सकिरहेका छैनन् भन्ने आमचासो र जनसरोकारको विषय भएकाले समितिले अग्रसरता लिएको उनले उल्लेख गरे । 

Advertisement

Advertisement