बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न भट्टराईको माग, कार्यकारी अध्यक्ष बन्ने इच्छा

Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । 

शुक्रवार सिंहदरबार पुगेर उनले दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई प्राधिकरणअन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । 

Advertisement

अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको बताउँदै भट्टराईले प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरु तीब्रताका साथ अगाडी बढाउन आग्रह गरेका छन् । 

आयोजना प्रभावित जनताका जायज मागहरुलाई पनि यथाशिघ्र सम्बोधन गर्न आग्रह गरिएको छ । भट्टराईले भने, ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्याउनेगरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने हो । त्यतातिर जाँदैछ भन्ने हामीलाई लाग्छ । त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ ।’ 

सरकारले चाहेमा संसदमार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडी बढाउन सक्ने उनले बताए । भट्टराईले आफूहरुले भदौ मसान्तसम्मको समय दिएको बताउँदै माग पूरा नभए स्थानीय जनतासँग मिलेर आन्दोलन गर्ने बताए । भट्टराईको इच्छा अधिकारसम्पन्न प्राधिकरण बनाएर त्यसको कार्यकारी अध्यक्ष हुने देखिन्छ । 

Advertisement