‘राजीनामा दिने’ भन्दै बालुवाटार छिरेका रास्वपाका मन्त्रीहरु नदिई बाहिर निस्किए

Advertisement

काठमाडौं । ‘राजीनामा दिने’ भन्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा दिने तयारीका साथ राजीनामापत्र बोकेर उनीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।

Advertisement

रास्वपाका मन्त्रीहरुले राजीनामा नदिनु अर्थपूर्ण देखिन्छ । प्रधानमन्त्री 
दाहालले उनीहरुलाई के भनेर राजीनामा नदिन आश्वस्त गराए ? बाहिर आउन सकेको छैन् । केही मिडियामा आएअनुसार दाहालले आफूले राजीनामा नदिने र संसदबाट विश्वासको मत लिने बताउँदै सहयोग गर्न आग्रह गरेका थिए । 

रास्वपाका सन्तोष परियारले भने, ‘राजीनामा बुझाउन गएका थियौं । प्रधानमन्त्रीले छलफल गर्नुपर्यो भन्नुभयो । कुरा गर्यौं । आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं ।

सरकारमा रास्वपाका सभापति रवि लामिछानेसहित चार जना मन्त्री छन् । लामिछानेले गृह मन्त्रालय सम्हाल्दै आएका छन् । उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति भएपछि देशको राजनीतिले कोल्टे फरेको हो । बुधबार एमालेका मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रास्वपालाई पनि सरकार छोड्न दबाब बढेको थियो । 

Advertisement

Advertisement