प्रधानमन्त्री नहुँदै ओलीद्धारा प्रधानमन्त्रीको जस्तो घोषणा

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री नहुँदै प्रधानमन्त्रीले जस्तो घोषणा गरेका छन् । उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गराउने घोषणा गरेका छन् । 

बिहीवार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने बताउँदै एसईई परीक्षा राम्रोसँग उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने बताए । 

Advertisement

काठमाडौंबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षा दिने बताउँदै ओलीले अनलाइन कक्षाको व्यवस्था देशभर नै गर्ने भन्दै निःशुल्क अनलाइन शिक्षा लिनका लागि आफ्नो फेसबुक पेजमा सम्पर्क राख्न आग्रह गरे । उनले पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने बताए । 

ओलीले भने, ‘मैले तपाईंहरुसँग भेटेकै बेला एसईई पास गरेका विद्यार्थीसँग भेटेकै बेला, तपाईंहरुसँग खुशी साटिरहेका बेला अब मौका परीक्षा दिने विद्यार्थीलाई खुशी म के साट्न चाहन्छु भने उहाँहरुलाई उत्तिर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सोसियोलोजीका क्लासहरु अनलाइनमार्फत सबै विद्यार्थी एसईई दिँदै हुनुहुन्छ । उहाँहरुलाई उपलब्ध गराइनेछ, निःशुल्क । देशभर नै । ताकी उहाँहरुले काठमाडौंबाट गुणस्तरीय शिक्षकहरुबाट अनलाइनमार्फत उहाँहरुलाई शिक्षा दिनुहुनेछ । त्यसका लागि केपी शर्मा ओली फेसबुक पेजमा कन्ट्याक्ट गर्नुहोला । अनलाइन क्लासमा जोडिएर अनलाइन क्लासको लाभ लिन सक्नुहुनेछ ।’

उनले शिक्षकहरुलाई आवश्यक तालिम दिन नसक्दा गुणस्तरीय शिक्षक पाउन कठिन रहेको भन्दै नलेज ट्रान्सफर गर्नसक्ने क्षमता भएका शिक्षकहरुको आवश्यकता रहेको बताए । प्रमुख दुई दलबीच भएको सत्ता साझेदारीअनुसार अबको प्रधानमन्त्री केपी ओली हो । तर तेस्रो दल नेकपा माओवादीले सरकार छोड्न मानेको छैन् । 

Advertisement

Advertisement