काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सर्वसम्मतरुपमा पारित भएको छ ।

महानगरपालिकाका मेयर बालेन शाहले गत जेठ ३२ मा नगरसभामा पेश गरेको नीति कार्यक्रम मंगलबार केही संशोधनसहित पारित भएको हो । स्वतन्त्ररुपमा मेयरमा बिजयी भएका शाहले ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेलाई लक्षित गरी कडा आलोचना गर्दै आएकाले महानगरभित्रका सो पार्टीका वडाध्यक्षहरुले पनि उनलाई पेल्दै आएका थिए । 

Advertisement

नीति तथा कार्यक्रममा कांग्रेस, एमाले र एकीकृत समाजवादीनिकट तीन वडाध्यक्षले संशोधन प्रस्तावको लामो सुची राखेका थिए । सोही आधारमा नीति तथा कार्यक्रम संशोधन हुनुपर्ने भन्दै उनीहरुले पारित गर्न अवरोध गर्दै आएका थिए । अवरोधकै कारण पटक पटक स्थगित भएको नगरसभा आज बसेर नीति तथा कार्यक्रम पास गरेको हो । 

कांग्रेस र एमालेका वडाध्यक्षहरुले वीपी कोइराला र मदन भण्डारीको नाममा कार्यक्रम ल्याउनुपर्ने शर्त राख्दै बालेन शाहलाई दबाब दिँदै आएका थिए । तर मेयर शाहले भने पार्टीका नेताहरुको नाममा कार्यक्रम ल्याउन नसक्ने बरु प्रजातन्त्रका लागि बलिदान दिएका चार शहीदहरुको नाममा कार्यक्रम ल्याउनुपर्ने अडान लिएका थिए । 

गत असार १० मा बजेट पेशसँगै नीति तथा कार्यक्रममाथि पनि छलफल गर्ने कार्यक्रम थियो । तर कांग्रेस, एमाले र माओवादी केन्द्रका वडाध्यक्ष र सदस्यहरु बालेनको आलोचनामा केन्द्रीत भएपछि नीति तथा कार्यक्रम पास हुन सकेको थिएन् । त्यसपछि पनि पटक पटक बोलाइएको सभा कांग्रेस, एमाले र माओवादीका कारण स्थगित हुन पुगेको थियो । 

सोमबार महानगरको कार्यपालिका हलमा नीति तथा कार्यक्रममा ‘यथासम्भव सम्बोधन’ गर्न मेयर शाहले पुनः प्रतिवद्धता जनाएपछि आज पारित गरिएको हो । 

Advertisement