भुटानी शरणार्थी प्रकरणका आरोपीहरु पक्राउ गर्ने ‘दवंग’ प्रहरी अधिकृत सरुवा

Advertisement

काठमाडौं । नेपाल प्रहरीभित्र ठूला भ्रष्टाचार र तस्करी प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गर्ने एक उच्च प्रहरी अधिकृतको सरकारले सरुवा गरेको छ । 

प्रहरी संगठिनभित्र ‘दवंग अफिसर’को रुपमा परिचित प्रहरी नायव महानिरीक्षक मनोज केसीलाई नयाँ सरकारले सरुवा गरेको हो । विशेष ब्यूरोमा रहेका उनकै नेतृत्वमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न उच्च तहका बिचौलिया बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गरिएको थियो । 

Advertisement

निवर्तमान गृहमन्त्री रवि लामिछानेले उनलाई विशेष ब्युरोमा ल्याएर ठूलो भ्रष्टाचार र तस्करी प्रकरणको छानविन र कारवाहीको जिम्मेवारी दिएका थिए । तर उनी सरुवा भएको दुई महिना नपुग्दै नयाँ सरकारले सरुवा गरेको हो । प्रहरीमा कुनै पनि सम्झौता नगरी काम गर्ने निडर प्रहरी अधिकृतको छवी बनाएका केसीलाई विशेष ब्यूरोमा खटाइएपछि देशको राजनीति नै तरंगित भएको थियो । 

कम्तिमा एक बर्ष पुगेपछि प्रहरीलाई सरुवा गर्ने प्रचलनलाई लत्याउँदै नयाँ सरकारले केसीलाई दुई महिनामै सरुवा गरेर राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा पठाएको छ । कार्यकारी भूमिका खासै नहुने प्रतिष्ठान प्रहरीहरुलाई थन्क्याउने ठाउँको रुपमा चिनिन्छ । 

प्रहरी महानिरीक्षण वसन्त कुँवरसमेत तयार नहुँदानहुँदै पनि केसीको नेतृत्वमा झा र थापालाई पक्राउ गरी भुटानी शरणार्थी प्रकरणमा मुछिएका उच्च राजनीतिक तहका नेता र उनका सहयोगीहरुलाई पक्राउ गर्ने तयारी गरिएपछि प्रमुख दलहरु एक भएर सरकार परिवर्तन गरेको विपक्षीहरुले समेत दावी गर्दै आएका छन् ।

स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा केसीको भूमिका असहयोगी बनेको भन्दै गृहमन्त्री रमेश लेखकले उनलाई जिम्मेवारीबाट हटाएका हुन् । केसी हटेपछि ब्युरोमा अर्का प्रहरी नायव महानिरीक्षक राजन अधिकारी आएका छन् । उनी कांग्रेससँग बढी नजिक मानिन्छन् । यसअघि केसीकै नेतृत्वमा भएको भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वमन्त्री टोपबहादुर रायमाझी, गृहसचिवलगायतका व्यक्तिहरु पक्राउ परेका थिए । 

बेचन झा भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाका रुपमा चिनिन्छन् । उनको कनेक्सन उच्च तहका नेता, प्रशासक, न्यायाधीशहरुसम्म रहेको र उनले नै ठाउँ ठाउँमा रकम पुर्याउँदै सेटिङ मिलाएको अनुसन्धानबाट देखिएको प्रहरीले बताउने गरेको छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि भुटानी शरणार्थी बनाएर नेपाल र गैरभुटानीलाई अमेरिका पठाउने कार्यको नेतृत्व झाले गरेको बयान दिएका थिए । गृह मन्त्रालयले ठूला प्रकरणको अनुसन्धान र कारवाही प्रभावित हुनेगरी र प्रहरी अधिकृतहरुको मनोबल गिर्नेगरी सरुवा सुरु गरेको हो । केही दिनमा अन्य प्रहरी अधिकृतहरुलाई पनि सरुवा गर्ने तयारीमा मन्त्रालय रहेको स्रोतको भनाई छ । 

Advertisement

Advertisement