आफूमाथि प्रश्न उठेपछि महामन्त्री शर्माले उठाए गिरिवन्धु र शरणार्थी प्रकरणको मुद्दा

Advertisement

काठमाडौं । सरकार परिवर्तन भएसँगै गिरिबन्धु टी–इस्टेट जग्गा अनियमितता प्रकरणको अनुसन्धान र दोषीलाई कारवाहीको कुरा उठाउन छोडेको भन्दै कांग्रेसका महामन्त्रीद्धयको आलोचना भइरहेको बेला नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले यो विषयमा आइतबार कुरा उठाएका छन् । 

संसदमा बोल्दै उनले जग्गाबारे अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका हुन् । शर्माले कांग्रेस र एमालेको गठबन्धन अनुसन्धानका फाइल दबाउनका लागि बनाइएको भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको भन्दै यो भाष्यलाई गलत सावित गर्न गिरिबन्धु टी–इस्टेटको जग्गा प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने बताए । 

Advertisement

उनले भने, ‘गिरिबन्धुको ७० बिघा बेचेर खाएको भनेर कांग्रेसमाथि गम्भीर आरोप लागेको थियो । प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु कांग्रेसका ती को हुन् रु तिनले छुट पाउनुहुन्न । यो आरोपको छानबिन गरियोस् ।’ नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खुल्दा माओवादी र कांग्रेसको सरकार रहेको शर्माले जिकिर पनि गरे । 

एमालेले पनि सरकारमा पुगेसँगै यो प्रकरणलाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनले बताए । शर्माले भने, ‘जुनबेला नक्कली भुटानी शरणार्थी प्रकरण खुलेको थियो त्योबेला कांग्रेस र माओवादीको सरकार थियो । अहिले सरकारमा एमाले आइपुगेको छ । यो परीक्षामा हामीसँगै सामेल छ । यसलाई निष्कर्षमा पुर्‍याउनका लागि । नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि यही हो । निर्दोष कोही फस्नुहुन्न । दोषी कोही उम्कनुहुन्न ।’

प्रधानमन्त्री केपी ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने उनले बताए । शर्माले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कम भएर प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताउँदै कुरा कम र काम बढी गर्न पनि सुझाव दिए । 

एक्काईसौ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाई थियो । शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गरे । वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै उनले त्यसमा आफूहरुले बलियो साथ दिने बताए । 

Advertisement

Advertisement