घिसिङले उद्योगमा जस्तै सडक बत्तिको लाइन काटे लडाइँ गर्छौंः चिरिबाबु महर्जन

Advertisement

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशंका व्यक्त गरेका छन् । 

बिहीवार काठमाडौं उपत्यका मेयर्स फोरममार्फत शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा उनले स्थानीय सरकारको गठन पश्चात शहरी व्यवस्थापनका सन्दर्भमा उपत्यका भित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीय स्थल लगायतका सार्वजनिक स्थलहरुमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सिसिटिभि व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताए । 

Advertisement

काठमाडौं उपत्यकाभित्र पर्ने राजमार्ग, चक्रपथ लगायतका अधिकांश मुल सडकहरुमा जडान भएका सडक बत्तीहरुको बिल समेत स्थानीय सरकारको बिलमा समावेश गरिएको भन्दै केन्द्रिय सरकारको मातहतमा रहेका उक्त सडक तथा आयोजनाहरुमा जडित सडक बत्तीहरुको महशुलको विषय केन्द्रिय सरकार सरकारकै दायित्वभित्र पर्ने बताए । 

महर्जनले आव २०८०–८१ सम्मको बिल भुक्तानी सरकारले गर्ने पूर्वअर्थमन्त्री वर्षमान पुनबाट प्रतिवद्धता व्यक्त भएको अवगत गराउँदै आव २०८१–८२ देखिको बिल भुक्तानी स्मार्ट सडक बत्ती जडानमा अवलम्वन गरिएको मोडल (स्थानीय तहबाट ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणवाट ४० प्रतिशत अनुसार स्थानीय पालिका मातहतका सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको मात्र महशुल भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरे । 

तर प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरुमाझै विद्युत काटिदिनसक्ने भन्दै उनले त्यसो नगर्न चेतावनी दिए । महर्जनले विद्युत काटिएको खण्डमा आन्दोलन शुरु हुने बताए । 

उनले भने, ‘आर्थिक वर्ष २०८०–८१ सम्मको बिजुली बत्तीको तिर्नुपर्ने पैसा कहिलेदेखि शुरु भयो भन्ने थाहा नै छैन । यति पैसा ललितपुर महानगरपालिकाले तिर भन्यो, यति पैस चन्द्रागिरीले तिर भनेको छ । त्यति त तिर्न पनि सक्दैनौँ हामी । तिरेकै खण्डमा पनि भोलि त्यो बेरुजु निस्किन्छ । कथं कदाचित यदी यो काठमाडौं उपत्यकाभित्रको स्थानीय पालिकाहरुले अहिले जुन रफ्तारमा काम गरिरहेको छ, कहिलेदेखिको बिजुलीको बत्तीको शुल्क तिर्ने भन्नेकुराको डिफाइन गरिएको छैन, त्यो कुरालाई लिएर गएको आर्थिक वर्ष २०८०–८१ सम्मको हामीले सबैलाई तिर्न नपर्ने गरिदिने र त्यसपछि हामी पैसा तिर्छौं । तर तिर्ने फर्म्याट के त ? ६० प्रतिशत हामी तिर्छौं, ४० प्रतिशत सरकारले तिर्नुपर्छ । पछिल्लो कालखण्डमा गएर केही बत्तीहरु काटेको सुन्नमा आयो । त्यसपछि प्रधानमन्त्रीज्युलाई आग्रह गरेका थियौँ । यसलाई टुंग्याइदिनुपर्छ । सम्भवतः कुलमान घिसिङले फेरि अस्ति उद्योगतिर बत्ती काटे जस्तै हामीतिर पनि काट्यो भने लडाईं हुन्छ, यो त राम्रो हुँदैन । हामीले जे जति काम गरिरहेका छौँ,  सरकारको फेस सेभिङ काम गरिरहेका छौँ ।’

Advertisement

Advertisement