धेरै बोल्ने र भाषण गर्ने भन्दा पनि काम गर्नुपर्छः मेयर बालेन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले धेरै बोल्ने भन्दा पनि काम गर्ने पक्षमा आफू रहेको बताएका छन् । 

बिहीवार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन उद्धाटन कार्यक्रममा उनले सबैले धेरै बोल्ने र भाषण गर्ने भन्दा पनि काम गर्न जरुरी रहेको बताए । लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बालेनको तर्क छ । 

Advertisement

उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए । मेयर बालेनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए । उनले पशुपति क्षेत्रका सडकहरु चाँडो र तीब्र गतिमा बन्दै जाने विश्वास रहेको बताए । 

विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताउँदै बालेनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेको बताए । 

उनले सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताए । बालेनले सम्पदा शैलीका  सडक र घर भवनहरु भए पर्यटकहरुलाई आकर्षण अझै बढी हुने बताए । 

उनले भने,  ‘चाँडो र तीव्र गतिमा यहाँका सडकहरु बन्दै जानेछन् । बन्दै पनि छन् । ढुङ्गा छापिएका बाटोहरु भर्खरै छतबाट हेर्दै पनि थियौं । विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएको हिसावले जसरी वडा भवनको मुहार देखिएको छ, आगामी दिनहरुमा हाम्रो वडा अध्यक्ष, जनप्रतिनिधिज्युहरु र कर्मचारीहरुको सहकार्यले सम्पदामैत्री बाटो र घरहरुको मुहार यस्तै देखियोस् भन्ने चाहना छ ।’

बालेनले थपे, ‘त्यसको लागि काठमाडौं महानगरले बजेट पनि राखेको छ । अगाडिदेखि घरका फसादहरु सम्पदामैत्री मेगा शैलीमा भयो भने पर्यटकीय क्षेत्र अझै पनि राम्रो देखिनेछ । पर्यटकहरुलाई आकर्षण अझै बढी हुनेछ भन्ने आशा लिएको छु । म धेरै बोल्न चाहान्न । अब निस्कन पनि लागेको भएर छोटो बोल्न आग्रह गरेर बोले खासै बोल्ने भन्दा पनि कामै गर्नुपर्छ भन्ने हो । उहाँहरुलाई ग्राहो छ । लामो लिस्ट हुँदोरहेछ । जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिको नाम लिएर समय त्यसै जाँदो रहेछ । त्यो भन्दा पनि काममा समय दियौं ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ऐतिहासिक, सांस्कृति र पुरातात्विक रुपमा महत्व बोकेको वडा भएको बताइन् । उनले वडाले बस्ती र बस्तीहरुलाई सांस्कृति र पुरातात्विक रुपमा पर्यटकीय रुपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् । 

Advertisement

Advertisement